Archive for जुन, 2015

बिनाशकारी महाभूकम्प (३)

जुन 2, 2015

बिनाशकारी महाभूकम्प (३)
२०७२ साल बैशाख १२ गते ११.५६ बजे गएको बिनाशकारी महाभूकम्प र त्यस पछि दिनदिनै आउने परकम्पनले थिलथिलो परी ढलेका मनहरु बिस्तारै उठ्न खोजिरहेका थिए । देश बिदेशका सहयोगी हातहरु एक पछि अर्को फैलिइरहेका थिए । मानौं मानिसहरुले १२ र १३ गतेको नरसंहारलाई सामान्य बनाउंदै थिए । जीवन तरल हुंदै थियो । शोक र पिडालाई शक्तिमा बदल्दै तंग्रिरहेको मनमा १८ औं दिन फेरी शक्तिशाली भूकम्प आएर अर्को विध्वंश ,चित्कार माथि फेरी अर्को चित्कार र पिडामाथि अर्को रोदनको पिडा थपिदियो । छाप्रा, घर र महलबाट पाल हुंदै घरको छिंडि पिंडीमा आइपुगेको मानब फेरी पालको पालमै पुग्यो । जेष्ठ ११ गते पुगिसक्दा पनि अझै मानिस तनावमा छ । भोली एक महिना पुग्दै छ । देश शोकाकुल छ । बिज्ञहरु भन्दै थिए ठूलो भूकम्प पछि पराकम्पन बिस्तार सानो हुंदै जान्छ , पराकम्पन त लामै समय हुन्छ तर एक्कासि नसोचेको शक्तिशाली पराकम्पन पछि पुरै देशनै त्रसित भयो । पटक पटकको पराकम्पनले सिन्धुपाल्चोक त पहिलेनै बिनास भै सकेको थियो, यसपाला दोलखा लगायत अरु बस्ती र संरचनाले पनि त्यहि नियति भोग्न पर्यो ।                                                                                      DSC03115बैशाख २९ गते मंगलबारको दिन थियो । ठूलो भूकम्प आएर सुस्ताउंदै गरेको १८ औं दिन भएको थियो । समय १२.५० । सिन्धुपाल्चोक र दोलखा ( सुनखानी) केन्द्रबिन्दु बनाएर (७.३,यूएस जियोलोजिकल सर्वेका अनुसार ) ६.८ ( राष्ट्र्यि भूकम्प मापन केन्द्र ) रेक्टरको शक्तिशाली पराकम्पन झण्डै आधा मिनेट गयोे । १२.५० बाट शुरु भएको भूकम्प २.४४ बजेसम्म करिब २ घंटाको बीचमा ७ पटक ठूला पराकम्पन भै ठूलो धनजनको क्षति बनायो । बैशाख १३ गते पनि यही सिन्धुपाल्चोक र दोलखा केन्द्रबिन्दुबाट ६.९ रेक्टरको भूकम्प गएकोमा आज पनि यही केन्द्र बनायो । यसपटक दोलखालाई क्षत विक्षत पार्दै सयौ मानिसको ज्यान लियो । हजारौ घरहरु फेरी भत्किए । देशको बागडोर सम्हाल्ने सिंहदरबार पनि लगलग काम्दै आफनो अस्तित्व बचाउनै नसक्ने भयो । बैशाख १२ पछि २९ गते सम्म ४ रेक्टरभन्दा माथिको पराकम्पन १७२ पटक भयो । राहत र उद्धारको सहयोग गर्न आएको अमेरिकी हेलिकप्टर यही दिन शक्तिशाली भूकम्प आए लगत्तै खोज तथा उद्दारका लागि दोलखातर्फ उडेको थियो । दिनको २.३० बजेबाट सम्पर्क बिहिन भएको हेलिकप्टर जेठ १ गते सिन्धुपाल्चोकको हिमाली खर्क घोर्थलीमा क्षतबिक्षत अवस्थामा फेला पर्यो । जस्मा २ नेपाली र ६ जना अमेरिकी सैनिक थिए । भनिन्छ यसदिन यसले घाइतेहरु उद्दार गरेर यसैमा ल्याइएको हुन सक्छ । हेलिकप्टरमा आएका केही घाइतेहरुको अहिलेसम्म पत्तो नभएको पिडितका परिबारले भनिरहेका छन् ।                                                                                DSC03794२९ गते संसद चलिरहेको थियो । भूकम्पपिडितको राहत पुर्नस्थापना र पुनर्निमाणसम्वन्धी संकल्प प्रस्तावमाथि छलफल चलिरहेको बेला भूकम्प गयो । एमालेका उपमहासचिव बिष्णु पौडेल रोष्टममा उभिएर बोल्न शुरुमात्र के गर्दै थिए, चिनियाले बनाइ दिएको यो भवन ९ रेक्टरको भुइचालो आएपनि थेग्न सकिने भनिएको भएता पनि सांसदहरुको भागाभागनै भयो ।                                                                                   DSC03338हाम्रो भूबनोट र भौगोलिक अवस्थाका कारण हामीले सुनामी, ज्वालामुखी र समुद्री आंधीबेरीजस्ता भयावह बिनाशकारी विपद्को सामना गर्नु पर्दैन । बिज्ञहरुको भनाइ अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भने हो । यहां भूकम्प जुनसुकै बेला पनि आउन सक्छ भन्ने कुरा थाहा थियो । अहिलेको विपत्ति मानिसले कल्पनै नगरेको भने होइन । काठमाडौं संसारका महानगरहरुमध्ये भूकम्पीय जोखिमको एक नम्वरमा पर्दछ । काठमाडौं जोखिममा छ भनेर बिज्ञहरुले धेरैपहिला देखि पूर्व सूचना दिएका पनि हुन् । यूनडिपीको अध्ययन अनुसार सिंगै देशलाई हेर्दा नेपाल भूकम्पीय जोखिमको ११ औं नम्वरमा पर्ने मुलुकका हो । त्यसैले यसबाट बच्न यहां वन्ने सबै संरचनाहरु सोही अनुसार बनाउदैं क्षति न्यून हुने तर्फ सोच्नु पर्नेमा हामीले कहिल्यै यसलाई गंभिरता पूर्वक लिएनौं । चियाको कपमा आउने आंधीजस्तै ठान्यौ । भूकम्प आफैले मानिस मार्दैन तर हाम्रो आफनै लापरवाहीमा बनेका बनाइएका संरचनाले मार्छ भन्ने कुरा ख्याल राख्नु पर्नेले कहिल्यै ख्याल राखेन, राख्न खोजेन । भूकम्प कहिले र कत्रो आउंछ भन्ने कुरा कसैलाई थाहा हुंदैन तर भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्ने धेरै उपायहरु त थिएनि । केवल भूकम्प आएपछि टेवलमुनी लुक्ने र टाउको बचाउन दुवैहातले टाउको छेक्ने यस्तै कुरामात्र सिकायौ , हामीले सिक्यौ ।                                                                                     DSC03343डा रामचन्द्र तिवारी लगायत धेरै विद्धानहरुले यही कुरा भने ः पृथ्वीको माथिल्लो भूभाग टुक्रा टुक्रामा विभक्त छ । जसलाई प्लेट चटृान भनिन्छ । यीमध्ये हिमालयन वेल्टको निर्माण इन्डियन प्लेट र एसिया युरोपको अधिकांश भूभाग भएको युरेसियन प्लेट एक अर्कामा जुधेर बनेको भन्ने गरिन्छ । नेपाल यहि हिमालयको मध्य भागमा करिब ८ सय किलोमटरसम्म फैलिएको छ ।                                                                                     DSC03410आफु सानो भएको कारण इन्डियन प्लेटले युरेसियन प्लेटलाई धकेल्न सक्दैन र प्रत्येक वर्ष २ सेन्टिमिटरका दरले भित्र धसिने गर्छ । यसरी भित्र धस्सिरहने क्रममा घर्षणले गर्दा प्लेटहरुको परिधिमा सक्ति संचय भै रहेको हुन्छ । प्लेट प्लेट बीचको परिधिलाई फल्ट (चिराहरु ) भनिन्छ । जसमध्ये ९२ वटा सक्रिय फल्टहरु नेपालकै सिमाभित्र पर्छन । ती मध्ये दुइवटा फल्टहरु त काठमाडौं उपत्यका भित्रै छन् । इन्डियन प्लेट तिव्वतीयन प्लेटमा धसिइरहेको र अथाह शक्ति संचय भइरहेका कारण हिमालमुनि नेपालमा शक्तिशाली भूकम्प आउन सक्ने पूर्वानुमान गरिएको थियो ।
पृथ्बीको सतहभन्दा सय किलोमिटर तलको भागलाई लिथोस्पेयर भनिन्छ । यसको माथिल्लो भाग त्यहांको तापक्रमले गर्दा टुक्र टुक्रामा बिभाजित हुन्छ ।चटृान फुट्छ । ती पड्केर तरंग पृथ्बीको सतहमा आउंछ । त्यो भूकम्प बन्छ । पृथ्बीको सतहमुनिको लामो धांजामाथि हाम्रो देश परेकोले पनि भूकम्पको जोखिम वढेको हो ।                                                                                 DSC02909भूगर्भ बिभागका सहप्राध्यपक डा. तारानिधि भटृराइ लेख्नु हुन्छ ः पृथ्बीको बाहिरी सतहबाट भित्री केन्द्रतिर जांदा बेग्लै भौतिक गुण भएका मुख्य पांचवटा पत्रहरु भेटिन्छन् । सबैभन्दा बाहिरी पत्रलाई लिथोस्फेयर भनिन्छ । लिथोस्पेयरको भित्रपटिृ क्रमश एस्थेनोस्फेयर,मेसोस्फेयर, बाहिरी कोर र भित्री कोर रहेका हुन्छन् । लिथास्फेयर ठोस, कडा र दह्रो हुन्छ भने एस्थेनोस्फेयर रबरजस्तो तन्कने र कमलो भएकोले गर्दा लेदोजस्तो बिस्तारै बगिरहन्छ । मेसोस्फेयर भने ठोस हुनुको साथै एस्थेनोस्फेयरभन्दा कडा र दह्रो हुन्छ । बाहिरी कोर तरल अवस्थामा छ भने भित्री कोर ठोस अवस्थामा .                                                                            20150428_123143
पृथ्बीको बाहिरी पत्र लिथोस्फेयरको मोटाइ एकनासको छैन र थुप्रै गहिरा र लामा चिराहरुले यसलाई टुक्राइदिएको छ । चिराहरुले घेरिएको लिथोस्फेयरलाई प्लेट भनिन्छ । पृथ्बीमा ७ वटा ठूला प्लेटहरु र १४ वटा मझौला खालका प्लेटहरु छन् । यी प्लेटहरुभित्र पनि थुप्रै ससाना प्लेटहरु हुन्छन् । प्लेटहरु स्थिर नभैकन चलायमान हुन्छन् । प्लेटहरुको सरदर गति १ देखि १८ सेन्टिमिटर प्रति बर्षसम्म भएको अनुमान गरिएको छ । कम्तीमा पनि १०० किमि मोटाइ भएका यी प्लेटहरु बन्ने र बिनाश हुने प्रक्रियालाई प्लेट केक्टोनिक्स भनिन्छ ।

20150623_154216
भूकम्पले बिगारेको सन्तुलनलाई पुनः स्थिर बनाउन चटृानमा आन्तरिक हलचल सुरु हुन्छ र साना साना भूकम्प जान थाल्छन् । जसलाई पराकम्पन वा आफ्टरसक भनिन्छ । सन् २००५ मा पाकिस्तानमा गएको शतिक्तशाली भूकम्पका ७.६ रेक्टर स्केल पछि लगभग १ महिनासम्म पराकम्पन ४ देखि ६.२ स्केल सम्मका आएका थिए । अर्को उदाहरण अगष्ट १५,१९५० मा भारत र चीन सिमानामा गएको ८.७ रेक्टर म्याग्निचुड स्केलको भूकम्पको पराकम्पनहरु एउटा ८ र ४६ वटा ६ रेक्टर स्केलका ४ वर्षसम्म गएका थिए । यहां पनि बैशाख १२ पछि एक महिना बितिसक्दा पनि पराकम्पनहरु भने पटक पटक गै रहेका छन् । जति शक्तिशाली भूकम्प आउंछ उतिनै लामो समयसम्म पराकम्पनहरु पनि आइरह्न्छन् भन्ने कुरा पक्का रहेछ ।

20150623_155828
भटृराइ भन्छन् भूकम्प मानब बिरोधी हैन, ’cause भूकम्पले मानिस मार्दैन । बरु मानव निर्मित भवनहरु लडेर मान्छेहरु मारिन्छन् । पृथ्वीमा भएका चराचर प्राणीहरु प्रकृतिका उपज हुन् भने भूकम्प आफै पनि प्रकृतिको एउट अंश हो । यसर्थ हामीले भूकम्पको अस्तित्वलाई स्वीकानु बाहेक अर्को बिकल्प छैन । अर्थात भूकम्पलाई कुनै हालतमा पनि टार्न सकिन्न र पूर्वानुमान गर्ने भरपर्दो प्रविधि पनि छैन । यो सत्यलाई अंगिकार गरेर विकसित देशका मानिसहरुले भूकम्प प्रतिरोधक विकास संरचनाहरु ( भवन ,पुल,वांध,राजमार्ग इत्यादि ) बनाउन सिकेका छन् । ै हामीले अहिले भत्किएका घरहरु हेर्दा त्यस्तै लाग्छ । जापान लगायत अरु देशमा ठुला भूकम्पजांदा पनि भूकम्पका कारण धेरैले ज्यान गुमाउंदैनन् । उनीहरुले बनाएको भूकम्प प्रतिरोधक संरचनाहरु भएका कारणनै हो ।
भूकम्पकै कुरा गरिरहंदा जेठ ७ गते विहिबार २०७२ मा ठूलो भूकम्प गयो । ६.९ रेक्टर स्केलको । सोलोमोन द्धिपको लता सहरदेखि १ सय ८४ किलोमिटर टाढा र साजधानी होनिआनादेखि ४ सय ८७ किलोमिटर टाढा १९ किलोमिटर गहिराइमा गयो । मुख्य भूकम्पपछि पराकम्पन आयो । तर भूकम्पको उर्जा भूमिगत जलस्रोतमा बिर्सजन भएकोले क्षति नभएको विद्हरुले जनाए । त्यहां भूकम्प पछि सुनामी गए मात्र ठूलो क्षति बनाउंदो रहेछ । सोलोमन द्धिप अग्नीचक्रभित्र पर्ने भएकोले त्यहा भूकम्प ज्वालामुखी बिस्फोट जस्ता घटना भइरहन्छ । यहां तीन वर्षमा ६. रेक्टर स्केलभन्दा माथिका ३० भन्दा वढी भूकम्प आइसकेको छ । तर यहां यस्तो बिपत्तिलाई सामान गर्ने खालको घरहरु हुनुले त्यहां बिनाशको संम्भावना कम हुने गर्दोरहेछ । सन् २०१३ मा ८ रेक्टरको जांदा पनि कल्पना गरेको भन्दा निकै कम १० जनाको मात्र मृत्यु भएको थियो रे ।
भूकम्पबाट सवैभन्दा वढी पिडित चीनमा ११७७ बीसीमा पहिलो पटक भूकम्प मापन गर्न थालिएको हो भने यूरोपमा ५८० बीसी तिरमात्र भूकम्प मापन गर्न शुरु गरिएको रहेछ । अमेरिकामा सन् १८११,१२ तिरमात्र भूकम्प मापन गर्न थालिएको हो । हालसम्म सबैभन्दा ठूलो रेक्टर स्केलको भूकम्प चिलीमा गएको छ । सन् १९६० मा गएको सो भूकम्प ९.५ रेक्टर स्केल भएको मापन गरिएको थियो । सन् २०११ मा जापानमा गएको ९ रेक्टरस्केलको भूकम्प र त्यसपछि अएको सुनामीले करिब २० हजारभन्दा वढीको ज्यान लियोे । संयुक्त राष्टसंघको इतिहासमा हैटीको भूकम्पबाट भएको मानवीय र भौतिक क्षति सबैभन्दा ठूलो रहेको छ । हैटीमा कार्यरत राष्ट्र्संघीय मिसनमा प्रमुखसहित ३७ जनाको मृत्यु भएको थियो । तीन सय जना वेपत्ता भएका थिए । राष्ट्र्संघको इतिहासमै उसले एउटै घटनामा यत्रो क्षति व्यहोर्नुपरेको थियो । आज सम्म राष्ट्र्संघले यति ठूलो क्षति शान्ति स्थापनार्थ खटिएका कुनै पनि मुलुकमा भोग्नु परेको छैन ।
२९को भूकम्प र म
यसदिन अर्थात २९ गते म काखे कम्प्युटर ल्यापटप खोलेर बसिरहेको थिए । अचानक बसेको मेच हल्लियो । हत्तपत्त उठेर ढोकाको चौकोस र ढोका जोडले समातेर बसें । यसदिन घरमा कोही थिएनन् । मेरै मात्र सुरक्षा गरे पुग्ने थियो । पहिलो दिन त मरिने भैयो अब बाचिन्न भन्ने लागेको थियो । यसदिन भने मर्न त मरिदैन तर घर चांही ढल्ने भो जस्तो लाग्यो । कताबाट के खस्छ , कुन भाग भत्कन्छ भन्दै दायां बायां फन्फन्ती टाउको घुमाएर बढो होसियार भएर बसे । हडबडाउनु हुन्न आत्मबल दरो बनाउनु पर्छ भन्ने भनाइ गएको भुइचालोमा पुरिनेहरुले बताएका र आत्मबलकै कारण बांचेका थुप्रै कुरा पढीएकाले म मा पनि एउटा आत्मबिश्वास बढेको थियो । झन्डै आधा मिनेट भुइचालो आए पनि मलाई भने निकै लामो दुई चार मिनेटै हल्लिए जस्तो लाग्यो । कम्पन कम भएपछि मात्र बाहिर निस्किए । बाहिर पहिले जस्तै बाटाभरी मानिस जम्मा भै सकेका रहेछन् । घर अगाडीको बारीमा पनि केही मानिस पुगिसकेका रहेछन् । बालि बचाएर बस, १२ गतेकै जस्तै आइरहे बारीमै पाल हालेर बसौला भन्दै सबैलाई बाली बचाइदिन अनुरोध गरें । पहिलेको भुइचालोले खुंदिएको बारी बल्ल बल्ल खनेर रोपराप गर्ने कामनिकै गाह्रो गरेर सकेका थियौ । यस्तो बेलामा भन्न त केही नहुने तै पनि त्यो दुख संझेर अनुरोध गरें । यसदिन पनि पटक पटक पराकम्पन भै रह्यो । बारीको पालबाट घरको भुइतलामा सुत्न थालेका थियौ । आजको भूकम्पले फेरी घर आफनैलागि यमराज जस्तो लाग्न थाल्यो । त्यसपछि पिंढीमा झन्डै ९नौ दश दिन सुतियो ।
हिजो यस्तो कहां हुनु । ९० सालमा संचार सुविधाकेही नभएको अवस्थामा प्रबिधिको फड्को मराइले फेसवुक गुगल, ट्वीटर, भाइवर जस्ता सामाजिक संजालले पनि धेरै हदसम्म महाभूकम्पको बेला काम गरे । बिपत्तको बेलामा सामाजिक सन्जाल निकै सक्रिय भएको धेरैको भनाइ छ । जसका माध्यमबाट सूचना प्रवाहमा व्यापकता आयो । नेपालमा भूकम्प गएको केही घंटा नबित्दै फेसवुकले सेफ्टी चेक फिचर राख्यो जसबाट परिबार र साथीभाइहरुलाई आफु ठीक भएको जानकारी गराउन सक्ने बनायो । गुगलले पनि हराएको मानिस भेट्टाउन गुगल पर्सन फाइन्डर ल्यायो । यसले बिपत्तका वेला हराएका मानिसको सूचना दिन वा आफुले भेटृाएका मानिसको सूचना दिने प्रबिधि गुगलले नेपालमा पनि लागु गर्यो । इन्टरनेट नभए पनि एसएमएसबाट पनि जानकारी गराउने सकिने थियो । त्यस्तै भाइबरले पनि बिदेशमा वसेकाले नेपालमा र नेपालमा बसेकाले बिदेशमा निशुल्क फोन गर्न पाउने सुविधा दियो । स्मार्ट फोन चलाउनेहरुले भूकम्प एप राखेर कहिले कति रेक्टरको भूकम्प गयो थाहापाउन सके । कतिले सामाजिक संजालबाटै राहत संकलन र बितरण गर्न पनि यसलाई प्रयोग गरे । ठाउं ठाउंमा रहेका सिसिटीभीहरुबाट भूकम्प आउंदाका दृश्यहरु कैद हुन सके यो प्रविधको फड्को मराइनै हो ।
अहिलेसम्म ५ लाखभन्दा वढी घर ध्वस्त भएको ८ हजार भन्दा वढी मानिसको मृत्यु भएको र १७ हजार भन्दा वढी घाइते भएको ३० लाख भन्दा वढी घरबार विहिन भएको छ । हाम्रो पुस्ताले भोगेको यो भयावह स्थिति हो । हिजो ९० सालमा संचार सुविधा केही नभएको अवस्थामा राजनीतिक सामाजिक संयन्त्रहरुको सर्वथा अभावका बीचमा पनि नेपालीहरुले त्यसको सामना गर्दै त्यत्रो आपत्तबाट बाहिर निस्कन सकेका थिए । अहिले होस्टेमा हैंसे गर्न संसारका धेरै देशले साथ दिइरहेका छन् । अब नयां फड्को मार्न यही भयाबह स्थितिमा टेकेर यो देशको पुनर्निमाण गर्दै पिडितलाई राज्यभएको अनुभूति दिन सकियो र यो देशको पुननिर्माण गरेर कायापलट गर्न सकियो भनेमात्र नेता र नेतृत्व भएको ठहरिने छ ।