कुइरोभित्र रमाउंदै दाप्चावजार


२१
कुइरोभित्र रमाउंदै दाप्चावजार

सडकमा पनि कुइरो, त्यही कुइरोभित्र लुकामारी खेल्दै सिन्धुली वर्दिवास सडकहुंदै नमोवुद्धसम्म वसमा जाने योजना भएपनि पात्लेखेत फुलवारी कटेपछि झमझम पानीले रुझेको कच्चि सडकमा पहिलो गाडीनैे हिलोसंग पौठाजोरी खेल्दा उसले पार पाउनै सकेन । पछि रहेको सबैे गाडी ट्वा परे । सवै मिलेर न्वारनदेखिको वल लगाउंदा पनि पारलाउनै सकिएन । डा अमृत सापकाेटा  म र अरु  केही साथीहरु वस जहां आइपुग्ला त्यही चढौला भन्दै अघि लम्क्यौ । नमोवुद्ध भञ्ज्याङ वा स्यामपाटी पुगेर निकैवेर सुस्तायौ ,तर गाडी हैन पदयात्रीको लर्कनपो आयो । हामी पनि त्यही हुलमा मिसिएर अगाडि वढ्यौ ।
दाप्चा भएर भकुण्डेवेसीसम्मको यात्रागर्न नमोवुद्ध भञ्ज्याङ (स्यामपाटी ) नमोवुद्धजाने दक्षिणतिरको वाटो छोडेर हामीले उत्तरतर्फको कच्चि मोटरबाटो समात्यौ । बाटाका छेउ किनारमा रहेका कुनै घरमा पसल, कुनैमा होटल व्यवसाय चलेका देखिन्थ्यो । बाटोसंगै रहेको १६५३ मिटरका उचाइमा रहेको हरियाली थुम्कोमा एकछिन सुस्तायौ । बाल उज्वल मा .वि. र काभ्रे विद्युत प्राधिकरण शाखा दाप्चा वाटैमा पर्ने रहेछ । दाप्चा पुरानो ऐतिहासिक वजार हो । कोटकालिका, भीमसेनस्थान, सपनेश्वर महादेवालय लगायत धार्मिक क्षेत्रका रुपमा चिनिएको र परम्परागत कलाले भरिएको पुरानो वजार हो दाप्चा । दाप्चा बजारका घरहरु पुराना कलाकृतिले सजिएका रहेछन् । यहांको सांस्कृतिक महत्व बोकेका जात्रा पर्वहरु पनि लोभ्याउने खालका रहेछन् । पहिले पहिले नमोवुद्ध धुलिखेल भएर राजधानी जान यही बाटो चल्तीको रहेछ । त्यतिवेला यो वाटो धेरै चल्तिको बाटो हो भन्ने कुरा अहिले पनि वजारमा रहेका घर, मठ मन्दिरले बताउंछन् र दाप्चा व्यापार विसौनीको केन्द्र विन्दु हो भन्ने कुरा जनाउंछ । वजारका ठाउं ठाउंमा मठ मन्दिर धर्मशाला प्रशस्तै देख्न पाइन्छ । पुराना घरहरु, पाटी पौवा सत्तल अझै पनि जीवन्त रुपमा रहेका छन् । दाप्चामा नेवार र तामाङहरुको वाहुल्यता रहेको रहेछ । पहिलेको दाप्चा वजार र आसपासका गाउं अहिले दाप्चा काशिखण्ड नगरपालिकामा परिणत भएको छ ।
स्यामपाटीदेखिनै झरी दक्र्यो । रुखहरु झरीमा मस्तसंग नुहाए र सुन्दर वने । हामीहरु कोही छाता र कोहीले वर्सादीको सहारा लिएर हिंड्यौ । सडक असारे रोपाइलाई विर्साउने गरी हिलाम्य वन्यो । आकासमा धुंवा धुलोको कुनै प्रदुषण थिएन । काठमाडौं उपत्यकाको सहरमाझै मास्कले मुख र नाक छोपेर हिंड्नु पर्ने आवस्यकता पनि यता थिएन । टांटा र टिंटी, ड्याङ ढुङको कुनै हल्ला पनि थिएन । अर्थात वातावरण एकदमै शान्त थियो । रुख विरुवाहरु धुलोले नछोपिएका हुंदा ’em वैंशले भरिपूर्ण भएकी सुन्दरीझै मुस्कुराइ रहेका थिए । दायां वायां रहेका ठुला ठुला पाटाबारीमा मकैवाली पुष्ट घोगा वोकेर दशनग्रा खियाउने किसानको ओठमा हांसो वाडिरहेझैं लाग्थ्यो ।
कांक्रेभञ्ज्याङ अघि नै आउने दाप्चा वजारमा मुखमै पानी रसाउने गरी थुप्रिएको रहर लाग्दो कांक्रो बजारका ठाउं ठाउंमा थिए । छानी छानी हरियो कांक्रो २० रुपैया किलो र पाकेको ठुला कांक्रो ३० रुपैया किलोमा किन्न पाउंदा सवैलाई सस्तै लाग्यो । चरचरी चिरेर र मुठिभरका कांक्रा सिंगै करम करम खांदा आंतै सितल भयो । तरकारी उत्पादन किसानले गर्छन । उनीहरुसंग गुन्दुकको भाउमा उठाएर विचौलियाले नाफाखांदा रहेछन् है साथी हो एकजना मित्रले ठुलै स्वरमा बोले । यही कांक्रो सहर आइपुग्दा २० को ५० र तीसको ८० नव्वे दरमा उपभोक्ताले किन्न परेको कुरा सुनाए ।
पदयात्रामा, भुगोल, भूवनोट, कला संस्कृति ’bout थाहा पाउने त छंदैछ । त्यसअलवा त्यसदिन डाक्टर, वकिल, साहित्यकार, कलाकार र साथीभाइहरुसंगको भेटघाट पदयात्राको अर्को महत्वपूर्ण पाटो हुन्थ्यो । हिंड्दैजांदा मेरा लागि बाटामा भेटिने वालवालिका, वृद्धवृद्धा, किसान व्यापारीसंगको भलाकुसारीले मन अझ हलुका हुने मात्र हैन उर्जा माथि उर्जा थपिएझै लाग्थ्यो । एकै छिनको वाटे वातचितले पनि दुवै थरीका मन हलुका भए जस्तो लाग्थ्योे । तनले स्फुर्ति पाएको आभास हुन्थ्यो । दृश्य परिदृश्यमा आंखा एकछिन पनि सुस्ताउन पाउंदैनथ्यो । दृश्य एकै भए पनि सवै पदयात्रीको दृष्टि भने फरक फरक हुन्थ्योे ।
हिंड्दै रमाउंदै दाप्चाको प्रशिद्ध डराउने पोखरी पुगिसकेका थियौ । वाटोमुनी रहेको अहिले पनि डरलाग्दै रुपमा रहेको डराउने पोखरी उतिवेला कस्तो होला मेरो मन मस्तिष्क तरंगित भयो । यो वाटो चल्तीको नहुंदा, अहिलेको जस्तो वस्ती र मानिसको उपस्थिति कम हुंदा, यो ठाउं निकै डरलाग्दो हुन स्वाभाविकै थियो हामी कल्पना गर्न सक्छौ । त्यसैले यसको स्वरुप र प्रकृति अनुसारनै मानिसले यसको नाम डराउने पोखरी राखिदिए । डराउने पोखरी छोडेर अगाडि लागे पछि पुरानो दाप्चा वजार छोयौ । माथिल्लो हटिया पनि भनिदो रहेछ । हाट लाग्ने परम्पराको इतिहास यो नाउंले वोकेको जस्तो लाग्यो ।
हिंड्नु स्वास्थ्यका लागि र ज्ञानका लागि धेरै लाभदायक छ । एक पटक बैशाखीको सहारामा खुट्टो लतार्दै हिंडिरहेका जयराम शर्माज्यूलाइ बाटोमा भेटेथें । जिज्ञासा राखे के भयो गुरुबा ? ‘मोटरसाइकलले भांचिदियो तिघ्रा, अहिले स्टिलरड राखेको छ । डाक्टरले त आराम गर्नु भनेका थिए । हेरन , हिड्नु पर्ने खुटृालाई आराम गराएर होला । मैले त हिंड्नुनै यसको उपचार हो भन्ने ठानेर खुटृा घिसार्दै भए पनि हिंड्दैछु ।’ एउटै स्वरमा जयरामसरले यतिका कुरा भन्नु भयो । वहां आफै पनि आफनो स्वास्थ्यवारे धेरै ख्याल राख्ने र जान्ने वुझने व्यक्तित्व भएकाले मैले वहांको कुरामा कुनै प्रतिपाद गर्न पनि सकिन । ‘डाक्टरले भनेकै कुरा सतप्रतिशत ठीक हुन्छन् भन्ने त छैन नि । आफुलाई के गर्दा ठिक र के नगर्दा वेठिक आफुले पनि जान्नु पर्छ ’फेरी वहांले थप्नु भयो थियो ।
झन्डै ५० को हाराहारीमा पुग्दा मेरा पनि दाहिने घुंडा पाक्न लागेका आलुवखडा झै रातो न रातो भएर सुनिए । पोल्ने, झमझमाउने, जमिनवाट गोडा उठाउनै गाह्रो, भरेङ तल माथि गर्ने गाह्रो हुनथाल्यो । नित्यकर्म गर्न र पलेटिमार्न टुकरुक्क वस्न गाह्रो भएर निकैदिन थला परें । नाम चलेकै अस्पतालमा धाए, डाक्टरले वुढ्यौलीे रोग भनिदिए, उनले अझै भने घर कति तलाको छ, तल्लो तलामा ओछ्यान सारेर वस्ने पहिलो कुरा । दोस्रो टुक्रुक र पलेटी कसेर नवस्ने । फिजियो थेरापी गर्ने तेस्रोकुरा भन्दै ४।५ थरी औषधी लेखिदिए । डाक्टरले भनेका कुरा बिश्वास गर्ने प¥यो । औषधी पनि लामै समय खाए । फिजियो थेरापी पनि गर्दै गरें । डाक्टरले नगर्नु भनेका दुइ कुरा भने गर्दै गरिन, पहिलो टुक्रुक वसिन , दोस्रो पलेटी कसेर वसिन । त्यसपछि बीसको उन्नाइस हुंदै पाक्ला भनेको घुंडो विस्तारै कम हुंदै भने गयोे । यस्तै रिति धेरै पटक भयो , जचाउने औषधी खाने यस्तै यस्तै गरेर लामै समय बित्यो । विहानको हिंडाइ भन्दा योगा गरेपो हुन्छ कि भनेर योगातिर पनि लागे । पलेटी मारेर योगागर्न थाल्दा फेरी बेथा वल्जिहाल्यो । योगा पनि छोडर औषधी पनि छोडेर सकेसम्म हिंड्नमै जोड दिए । तल माथि पनि गरिनै रहे । तौल घटाए । अहिले उसले हारेको छ मैले जितेको छु । जति हिंड्यो त्यति संचो भए जस्तो लाग्छ । डांडा कांडा उकाली ओराली हिंड्न सकेको छु । जयरामजीको त्यो मन्त्र संझे, हिंड्न वनाएका गोडालाई नहिंडाएर आराम दिन थाल्या भए, माथिको ओछ्यान तल ल्याएर सुत्न थाल्या भए , म घुंडाको रोगी भनेर वस्या भए, म उहिल्यै शारीरिक रुपले नभए पनि मानसिक रुपले वुढो भै सक्ने थिए । दुखे पनि हिंड्नै रमाउन थाले । अहिले मेरो घुंडा वसिरहंदामात्र अलि पोले जस्तो हुन्छ ,जति हिंड्यो त्यति मन रमाएर आनन्द आए जस्तो लाग्छ ।
पदयात्रामा हिंड्दा लाग्यो राज्यले भकुण्डेवेसी देखि नमोवुद्धसम्मको मोटर चल्ने वाटोलाई वाहै्र महिना चल्न सक्ने मात्र वनाइदिने हो भने यस क्षेत्रका जनतामा ठूलो राहत महसुस हुने लाग्यो । वास्तवमा कुनै पनि ठाउंमा पर्यटक आर्कषित गर्न पहिलो पूर्वाधार वाटो , सडकनै हो । त्यस पछि खानपिन र वस्नका लागि विभिन्न स्तरका होटल वा होमस्टेको आवस्यकता हो । दाप्चा वजारमा होमस्टेको आवस्यकता भै सकेको रहेछ । वस्ती पातलो छ । प्रशस्तै खेतीयोग्य जग्गामा मकै वारी लहलहाउंदो छ । कृषिका उन्नत जातका सिपी र स्थानीय जातका मकै वारीमा रहर लाग्दा देखिन्छ । मकै वारीको पकेट एरियानै वनाउन लायक ठाउं रहेछ । दाप्चालाई तरकारी क्षेत्रको पकेट एरिया को रुपमा विकास गरेर अर्गानिक तरकारी उत्पादन गर्न सक्दा होटल संचालनलाई पनि यसले भरथेग गर्ने छ ।
दाप्चा पदयात्रा गर्न चाहनेका लागि धुलिखेलबाट नमोवुद्धहुंदै पनि पुग्न सकिन्छ । काभ्रेको भकुण्डेवेसी बाट ४ किलोमिटर उक्लेर खनालथोक, कांके भञ्ज्याङ, तल्ला हटिया हुंदै छत्रेवांझ भएर दाप्चा वजार पुग्न सकिन्छ । फर्कदा ५ किमि हिंडेर नमोवुद्ध भएर धुलिखेल निस्कन सकिन्छ । ट्र्ेकिङ गर्नेका लागि पनौतीबाट शंखु हुंदै नमोवुद्ध भएर दाप्चा पुग्न सकिन्छ । साथीभाइ मिलेर हिंड्दा निकै रमाइलो लाग्ने यात्रा हुन्छ ।
दाप्चा वजार भएर भकुण्डेवेसी झर्दा खनाल थोकका गाउंवासीे खुसि हुंदै कांक्रेविहार चोकमै धिमे वाजागाजाले स्वागत गर्न आतुर हुनुहुन्थ्यो । रातो अक्षताको टिका लगाइदिएर पदयात्रीको धुमधाम स्वागतै गर्नु भयो । ३५५ जना सहभागी पदयात्रीका निधार रातो टिकाले रंगिए । हामी औधी खुसीहुंदै अाजकाे पदयात्राले एकजना अर्का नया‌ साथी अमृत सापकाेटास‌ग घनिष्ट मित्रता  बढायाे । मकैवारीसंग रमाउंदै ओरालो झरेको झरै भकुण्डेवेसी मुल सडकमा आइपुग्यौ ।

२०७३ ।

प्रकाशाेन्मुख तेस्राे कृति हिडाइकाे भाेगाइबाट

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )


%d bloggers like this: