नमोबुद्ध,बलथली पदयात्रा


 

नमोबुद्ध,बलथली पदयात्रा
धुलीखेलवाट सिन्धुलीवर्दिवास जाने सडक समात्यौ । शिखरभन्ज्याङ ,बांझकोट, दाप्चा पिपलटार हुंदै फलासे सम्म वसमा हुइकियौ । काभ्रेको नमोवुद्ध पुग्न पनौतीवाट भने २९ कि मि गाडीको वाटो हिंड्नु पर्छ । नमोवुद्धलाइ दोस्रोपटक पाइतालाले चुम्दा अझ नौलो अनुभूति भयो । प्राचिन स्तुप अगाडि ठूलो माने छोएर ढोग्ने र घुमाउनेको लस्कर, अघिल्लो पटक जस्तै स्तुप अगाडि बत्ति वाल्ने र अन्य कर्म गर्ने श्रद्धालु मानिसको आज पनि कमिदेखिएन । नमोवुद्धको फन्को मारेर शंंखुतिर हानियौ । सुन्तलाघारीसंग आंखा लडाउंदै कहिले ओराली कहिले उकाली गर्दै शंखेश्वरी खोलामा पुग्यौ जहां पक्कि पुल रहेछ । पुल नजिकै नदीको किनारमा पुरानो शंखेस्वरी मन्दिर छ । महादेव मन्दीर प्यागोडाशैलीको कलात्मक थियो । तर त्यसको उचित संरक्षण, रंग रोगन सरसफाइ भने थिएन । नजिकै भगवतीको मन्दिर पनि रहेछ । हामी पुलको वाटो नलागि दक्षिण पश्चिमतिरको एक्लेखेत (१५६५ मिटर) जाने वाटो लाग्यौ । एकलेखेतवाट देखिने सवै भित्तो पाखोमा सुन्तलाका वोटहरु देखिन्थे । सुन्तला खेतिले यहांको जनजीवनमा पनि आर्थिक प्रभाव राम्रै पु¥याएको प्रस्टै देखिन्थ्यो । सवै घरहरु जस्तापाताले छाइएका राम्रा चिटिक्क देखिन्थे । चारैतिरको डांडा र मकैबारी भएको ठाउंमा अलिकति खेत रहेछ त्यसैले सायद एक्लेखेत भनिएको हुनुपर्छ मेरो मनले अनुमान ग¥यो । काभ्रे शंखु एक्लेखेत नजिकै शंखु पाटीचौरमा धनकाली मा.वि..प्रजातन्त्रपश्चात ०४७ मा स्थापना भएको रहेछ । यो विद्यालय जापानको कुमामोतो र जापान मेडिकल हाइस्कुल ( जे एसए ) वाट २०६० सालमा निर्मित एल आकारको एकतले भवन वडो रमणिय स्थानमा रहेको छ । हामी एक्लेखेतकै भन्ज्याङवाट स्कुल माथिको उचा डांडामा वसेर विहानीको भनौ वा आजको तीनवरावर खाना खायौ । आजको खानामा मिठ्ठा सम्यवजी चांही नौलो थियो, सदाझै तीनथरी हरियो तरकारी र सांधेको बोक्रा सहितको आलु त छैदै थियो ।
प्रकृतिसंग रम्न, डांडाकांडा घुम्न र उसको सुन्दरता हेर्ने समय भनेकै असार मास जस्तो लाग्छ । भुइपनि हरियै कार्पेटले सजिएको छ । पाखा पखेरामा पनि हरियै कार्पेट टांसेझै लाग्छ । वसन्तऋतुका रुख विरुवा त हरिया हुने नै भए । पालुवा चढेर मोहित पार्ने भएनै अझ तिनै रुखमाथि वसेका कोइली चरी अन्य विभिन्न चरीका मिठा आवजा र कुकु चरीका कुकु आवाजले कस्को मन आनन्द भएन होला । कस्को घांटि र आंखा रुखतिर तानिएन होला
खाना खांदै थियौ ,सिमसिम पानी प¥यो, छाता खोल्नै पर्ने गरी । फेरी एकैछिनमा इन्द्रेणी परेझै घाम लाग्यो । मनसुनी वेला फेरी दर्केरै पानी प¥यो । वलथली जानुपर्ने वाटो अलि अप्ठेरो रहेछ त्यसैले हामी यता धेरैवेर अलमलिएनौ । एक्लेखेतवाट ओरालो झरेपछि हामी रोसिखोलातिर झर्यौ । भीरको सानो बाटोमा ३०० जनाको लस्करको मुखकता पुछर कता भयो, हामी चांही वीचतिर रहेछौ । वनको पहरोको वाटो हुंदै रोसिखोलातिर ओर्लियौ । भीरमा चुत्रो लटरम्म पाकेका थिए । धेरै साथीहरुले मिठो मानी मानी हिंड्दा हिड्दै लामाहात गरेर मुख वुजो लगाउनु भयो ।
पदयात्रामा विदेशी केटी पनि हाम्रै अघि पछि उनका नेपाली साथीसंगै थिइन् । औधी रमाइलो मानीरहेकी थिइन् तिन्ले । बाटामा बलथली बाट नमोवुद्ध जाने केही विदेशीहरु पनि हामे लामो लस्कर देखेर रमाउंदै दुइहात जोडेरै नमस्ते गरि रहेका थिए । हाम्रो लस्करले पनि एउटै स्वरमा नमस्ते भन्दै नेपाल मनपराएकोमा हुदयदेखि धन्यवाद दि रहेका थिए । रोसिखोला झर्नु अघिनै पारीपटिृ वलथली देखियो , बलथलीले सवैको मन लोभ्याएकोले मोवाइल, क्यामरा फोटो र सेल्फी खिच्न व्यवस्त भै हाले । हरियो जंगलले चारैतिर घेरिएको थलीको वरीपरी वस्ती वीचको पुरै खेतमा धान रोपाइले हरियै देखिएको बलथली स्वर्गको टुक्रा जस्तै लाग्ने थियो । भकुण्डो जस्तै आकारको थली भएकोले वलथली नाम रहेको हुनु पर्छ मैले अन्दाज लगाए । किवंदन्ती चांही, तामाङ भाषामा थली भनेको सम्म परेको जग्गा रहेछ । बलियो तामाङले वस्ती बसालेकोले बलथली भनिएको कुरा गाउंलेले सुनाए । पहिले बलथली गाविस वडा नं १ अहिले पनौति नगरपालिको ११ नं वडा भएछ । बलथली समुनद्र सतहवाट करिव १७०० मिटरको उचाइमा अवस्थित छ । रोसिखोलाको झोलुङगेपुल तरेर ठाडै उकालो काटे पछि थलीको मुखैमा वारीका ठुला ठुला पाटामा घैया गोड्दै हुनुहुन्थ्यो आमाहरु । किन मकै नलगाएर घैया लगाउनु भयो , रामे हुन्छ र घैया सोध्न नपाउंर्दै आमाले आफनै दुखेसो पोख्नु भयो ‘ मकै लगाएर खान पाउने भए पो वांदरले सखापै पार्छ । त्यसैले घैया लगाएको । ’ अगाडि पछाडि रहेका सहरीया साथीहरुलाई घैया वारे थाहा रहेन छ । गहुं हो कि जौ भन्दै हुनुहुन्थ्यो ।
बलथलीसंग मेरो धेरै पहिलेको साइनो छ । त्यो साइनो जनक प्रसाद हुमागाइले जोडिदिनुु भएको हो । पहिले वलथली जांदा खोपासीेतिरबाट झोलुङगे पुल वा सांघु तरेर बलथली टेकेका थियौ । उकालो लागेपछिको मुखैतिर साहित्यकार जनकप्रसादंको घर थियो । त्यहां मैले दुइपटक गरेर दुइ रात विताएको छु । त्यतिवेला बलथलीलाई यति सुन्दर यति राम्रो देखेको थिइन । अहिले एक्लेखेततिरवाट हेर्दा र आउंदा पो बलथलीको असली सुन्दरता देखे । बलथलीमा अहिले ठुला साना रिसोर्ट खुलेका रहेछन् । बलथलीमा रिसोर्ट खोल्ने पहिलो मान्छे रामप्रसाद हुमागाइ हुंनुहुदोरहेछ । पहिलेको भन्दा वाटो फराकिलो भएछ । पहिलो पटक श्यामप्रसाद, कुलमानदाइसंगै जनकदाइ बा को किरिया वसेका वेला भेटघाटगर्न आएको थिए । पंचायतकालको कालरात्री थियो । श्यामप्रसाद भूमिगत अवस्थामै भएकोले उतिवेला लुकि लुकिनै सांझतिर पुगियो । खाना पछि कोठामै गफ चले । सुत्न पनि छरिएरै सुतियो जनकदाइका घर वरीपरी । केही भै हाल्छ कि भन्ने डर थियो । गाउं घुम्ने त्यस्तो मौकै मिलेन । आज जव हाम्रो टोली लड्केश्वर महादेव मन्दिर चोक जहां लड्केश्वर पुस्तकालय थियो त्यही अगाडी गएर रोकियो म नतमस्तक भए । जनकदाइको अगुवाइमा वनेको लड्केश्वर बिद्यालय, लड्केश्वर पुस्तकालय, झोलुङगेपुल देख्दा एकछिन वहांको संझनाले पानी पानी भए । जनकदाईलाई झलझली संझे । आज वहां हुनु भएको भए मैले कत्रो धाक लगाउन पाउंथे, प्रकृतिप्रेमी समूहको पदयात्रा कार्यक्रममा तपाइको गाउं पुगेर आए भनेर । अथवा वहांलाई समेत म आज यो कार्यक्रममा सरिक गराएर धेरै साथीहरुको वीचमा सादा जीवन उच्च विचारका प्रतिमूर्ति जनकदाईलाइ चिनाउन पाउंथे । लौ त्यति पनि नसकेको भए बलथली पुग्दा हाम्रो प्रकृतिप्रेमी समुहले वहांको सहयोगमा ठूलो स्वागत पाउने वातावरण वन्थ्यो । बलथलीको दही दुध मही खुवाउने वहांको इच्छा हुन्थ्यो । तर वहां अहिले हामी वीच हुनुहुन्न क्यान्सरजस्तो घातक रोगले हामीवाट छिन्यो ।
लड्केश्वर चोकमै हाम्रो कार्यक्रम हेरेर रमाइ रहनु भएका वेल प्रसाद हुमागाईबाट थाहा पाए बलथलीको त्यो घरमा अहिले भाइ शारदा हुमागाई वस्नुहुदो रहेछ । फर्कदा हामी वहांकै घर नजिकैको वाटोमा मेरा पाइला अगाडि वढे पनि मनका पाइताला भने जनकदाइकै घर आंगन चोटा कोठा र मटानसम्म पुग्यो । वहांको अभावमा अहिले पनि धेरै कुरामा जीवन संधै एक्लो रहेको महसुस म मा भै रहन्छ ।
जज्ञेचौरको लड्केश्वर मन्दिर अगाडीकै चोकमा अन्तरक्रिया र नाचगान भै रहंदा म भने त्यही पिपलको चौतारीमा लड्केश्वर पुस्तकालय हेरेर जनकदाइसंगका ०३४ ।३५ सालदेखिका दिनहरुको संझनाले दिमाग फन्फन्ती घुमिरहे । ०४२ सालको राष्ट्र्यि पंचायत को सदस्यमा जितेरपछि शैलेन्द्र कुमार परराष्ट्र् मन्त्री भए । त्यसवेला वहां धेरै पटक बलथलीमा पुल हाल्न अन्तराष्ट्र्यि वाल दिवसको सन्दर्भ पारेर योजना पारौ त्यसको नाम बाल पुल राखौ भनेर खुव दौडनु भयो । क्लव पुस्तकालय र वृक्षारोपणका लागि विभिन्न ठाउंमा धाइ धाइ योजना पार्नुहुन्थ्यो । त्यही भेटिएका स्थानीय वेल प्रसाद हुमागाइसंग चिनापर्ची गर्दैजांदा उनीपनि जनकदाईका सहयोगी रहेछन् । उनले जनकदाइले बलथलीमा गरेका कामको वेलिविस्तार लगाए । धेरैलाई बामपन्थी बाटोमा उनैले डोराएको कुरा, सहरमा वसे पनि तन मन गाउंकै लागि रातोदिन खटाएर सवैका आंखा खोलिदिने, न्याय अन्याय छुट्याइदिने मानिस जनकै थिए । गाउं ढुक्क थियो जनक छन् भनेर । भर्खरै सकिएको स्थानीय चुनावमा पैसा र जातित्वका नारा उठाउनेले चुनाव जितेकोमा भने उनलाई पटक्कै चित्त वुझेको रहेनछ ।
आलु खेतीका लागि कहलिएको बलथलीमा किसानले भर्खरै आलु भित्राएर धान खेतीका लागि खेतखेतमा व्यस्त देखिन्थे । बलथली यस्तो टापुका रुपमा रहेको छ जहां पुग्न जताबाट गएपनि झोलुङगे पुल तर्नु पर्छ । यसका वरीपरी रोशी र लड्केश्वर खोला नदी वगेकि छिन् । बलथलीवाट वाहिर निस्कन पनि झोलुङगे पुल तर्नु पर्छ । तीनवटा झोलुङगे पुल बलथली आइजाइ गर्ने माध्यम वनेका छन् । एउटा लडकेश्वर महादेवपटि । अर्को कोतुङगेपुल , तेस्रो बालुवातिरको झोलुृंङगे पुल ।
बलथलीलाई केन्द्रविनदु वनाएर ककनी देखि पदयात्रा शुरु गरेर चिसोपानी, नगरकोट, धुलिखेल , नमोवुद्ध हुदै पनौती सम्मको अलि लामो यात्रा पनि गर्न सकिने रहेछ । हामी नमोवुद्धवाट वलथली आयौ, यस्को उल्टो खोपासी बलथली हुंदै नमोवुद्धसम्मको पदयात्रा २।४ जना मिलि गर्न सकिन्छ । हामी बलथली पार गरे पछि रोशीखोलाको झोलुंगे पुल तरेर खोपासी वजार आइपुग्यौ । बाक्लै वजार वसिसके छ । हिंड्न अझै मजालागि रहेको थियो, अझै खोपासी वजार पुरै हिंडेर पनौति पुग्न पाए हुन्थ्यो मन भनिरहेकोे थियो । तर गाडी खोपासी बजारको मुखैमा रहेकाले फर्कदाको यात्रा बसवाटै अगाडि वढायौ । धेरै अघि पनौतीवाट हिंडेर गएका यादहरु पनि म भित्रै कतै रेकर्ड भै रहेकै रहेछ, विगत संझदै गर्दा त्यो रेकर्ड खुल्दै सिनेमा झै पुराना कुरा एक पछि अर्को गरी लामवद्ध हुन थाले । कस्तो अचम्म , म आफै छक्क परे । रेसम खेती अहिले पनि त्यस्तै छ । हिजो र आज यसवाट के फाइदा भए होलान् मनमा जिज्ञासा उठ्यो । यहांको ठूलो खेतीयोग्य जमिनमा घर ठडिने होडवाजी चलि सकेछ । सवैतिर यसै गरी घर मात्रै बन्दै जाने हो भने भोलीका सन्ततीका दिन कसरी वित्लान् मन फेरी अमिलियो ।
२०७४।२।२७।७

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )


%d bloggers like this: