मेरो ऐतिहासिक सहर कीर्तिपुर


मेरो ऐतिहासिक सहर कीर्तिपुर
गोपीचन्द्र कार्की

 

कीर्तिपुर आफैमा एउटा पुरानो ऐतिहासिक सहर हो । ऐतिहासिक सहर कीर्तिपुर घुम्दा कलासंस्कृति , मठमन्दिर चैत्य र चाडपर्वले भरिभराउ भएको पाइन्छ । पाटीपाैवा ढु‌‌गेधारा तथा पाेखरी यहाँका अर्काे बिशेषाता हाे ।  गुँलापर्व शुरु भएपछि त कीर्तिपुर सहरका गल्ली टोलमा रहेका पाटी पौवाहरुमा विहानै देखि नेपाल भाषाका भजन कीर्तनले गुन्जायमान हुन्छ । कीर्तिपुरका रक्षकको रुपमा मानिएको बाघभैरव मन्दिरमा विहानै देखि भक्तजनहरुको सँधै घुइचो लाग्छ । कीर्तिपुरको उच्चस्थानमा रहेको कोतघर र उमामहेश्वरको मन्दिरमा दर्शन गर्नेहरु र उपत्यका हेर्न आउनेहरुको को सँधैनै भिड देखिन्छ । कीर्तिपुर पुग्दा नेवार कला संस्कृति परम्परा  जात्रापर्व र नेवारी जीवनशैलीको संग्रहालय जस्तै लाग्छ ।हरेक बिहान महिलाहरुले घरकाे मुलढाेका र मुलढाेकाकाे सीधा अघिल्लतिर स्थापना गरिएकाे गाेलाकार ढुँगाकाे देवतालाइ नेपाल भाषामा  पिखालाखु भनिन्छ ।हाम्रातिर अाधुनिक घरहरु बन्दै गएपछि दैलाे स‌ँगठेलाे राताेमाटाेले पाेत्ने चलन हराउँदै गएपनि कीर्तिपुरमा महिलाहरु भने दैनिक राताेमाटाेले दैलाे लगायत पिखालाखुमा पाेत्नेकाम अहिले पनि गरिन्छ । राताेमाटाेले गाेलाकार पारेर पाेतेपछि त्यसमा जल चढाउँदै बत्ति बालिन्छ ।

भूकम्पले क्षति पारेर बन्दै गरेको चिलन्चो विहार ( जगतपाल विहार ) वि.सं. १५७२ मा स्थापना भएको हो, जहाँ घुम्न आउने पर्यटकहरु संधै भेटिन्छन् । उमामहेश्वरको डवलीबाट उपत्यका छर्लङ देखिन्छ । उमा महेश्वरको मन्दिरमा अहिले रहेको ठूलो घंटामा इ.सं १८९५ उल्लेख छ । यो घंटा पहिला पहिला बज्दा पुरै कीर्तिपुर र हाम्रो गाउँघरतिर पनि मिठो धुन टनन.. .टङटङ. गरेर बज्थ्यो । तर अहिले घंटको एकातिर फुटेकोले खासै आवाज आउँदैन । अझ यस भन्दा पहिलेको यहाँकाे घंटा बज्दा पुरै काठमाडौँ, भक्तपुर र ललितपुर तीनै सहरमा गुन्जन्थ्यो रे । त्यो घंटा चोरेर भक्तपुरलाने क्रममा बीचैबाट पाटन दरवारमा पुगेको रहछ । पाटनको नर्सिङ दबुली अर्थात कृष्णमन्दिरको चोकबाट अहिले पनि कीर्तिपुरको त्यो चोरिएको घंटा देख्न सकिन्छ भनेर कीर्तिपुरका बुढापाकाहरु भन्छन् ।
वारी तीनथाना पारी कीर्तिपुर साँधमा बल्खुखोला । सानै देखि देखेको कीर्तिपरमा पाइलैपिच्छे कलात्मक मन्दिर, चैत्य, ढुंगेधारा र कलात्मक झ्यालढोका आदि देख्न पाइन्थ्यो । कीर्तिपुरमा प्राय बौद्धधर्म मान्नेहरु रहे पनि मठ मन्दिर चैत्य, गुम्वा स्तुप भने बौद्ध र हिन्दुधर्मका सरोवर देखिन्छन् । हाम्रोतिर हिले धुले बाटो छँदा उता कीर्तिपुर सहरभित्र जताततै ढु‌ँगा  विच्छाइएका वाटाहरु हिँड्न पाइन्थ्यो । एेतिहासिक सहरकाे महत्व कायम राख्न  अहिले अजै ब्यवस्थित रुपमा मुख्य चाेकदेखि टाेलटाेलमा ढुँगा विच्छाइएकाे पाइन्छ ।छ सात वर्ष देखि गाइगोठाला जान थाले देखिनै कीर्तिपुरको सेरोफेरो लगाएको छु । सुरुमा हाम्रो खानेपानीको स्रोत कीर्तिपुरनै भएकोले खानेपानीका सिलसिलामा पनि धेर्रै पटक आइजाइ हुँदा थुप्रै साथीसँग यही वेला चिनजान  भयो । कीर्तिपुरका पुराना मानिसले अझै पनि हामीलाई डुप्पा बासी भनेरै चिन्छन् । बल्खुखोलाको दिःखुमा रहेको चिहान पश्चिम हाम्रो गाउँ भएकोले डिपा अर्थात चिहान नजिकैको गाउँ भएकोले हामी डिपा बाट अपभ्रंस भएर डुप्पाबासी भयौँ  भन्ने मेराे अनुमान छ।
अस्पतालका नाममा बीरअस्पताल र कालिमाटीका कम्पाउण्डर चिनियामान वाहेक हाम्रालागि उतिवेला औषधी गर्ने अर्को  नजिकको ठाउँ अर्थात कीर्तिपुरका इसीलाल (इश्वरलाल ) र व्रम्हचा थिए । कपाल काट्न, हात खुटृा मर्के भाँचिए नाउ जोगलाल बा र भाँडाकुँडा वनाउन पाइन हाल्न कर्मीका घरमा कीर्तिपुर जानै पर्ने थियो । कपाल काट्ने र भाँडाकुँडा पाइन हाल्नेले भने वर्षेनी बाली लान्थे । यसरी किर्तिपुरसँग मेरोे सम्वन्ध वालापन देखिकै हो । हाम्रो गाउँतिर पनि कीर्तिपुरेको प्रसस्तै जग्गा जमिन भएकाले उनीहरुको पनि यता त्यस्तै सम्वन्ध थियो । कीर्तिपुरको इन्द्रायणी मन्दिर तल ठूलो ढुंगा थियो, जहाँ हामी गोठाला गए पिच्छे त्यसलाइ हात्ती सँझेर चढ्थ्यौँ । साँच्चै त्यो अजङगको ढुंगा अहिले छैन, त्यस ठाउँमा घर वनिसके । अर्को खाँसि वजारतिर जाने ठाउँमा भएको ढुंगामा खोपो जस्तो थियो जहाँ हामी ढुँगा फालेर खेल्थ्याैँ । चिहान नजिकै पनि यस्ता अचम्मसँग अडेका ठूला ढुंगा थिए तिनमाथि चढेर हामी खेल्थ्याैँ । ती आज छैनन् ।  चिहान दहमा पाैडी खेलेपछि चिहानसँगैकाे पुरानाे पाटीभित्र रहेका फलामे डँडीमा बाँदर रमाए जसरी रमाएर तेलकासा खेल्थ्याैँ । त्यस्तै  कीर्तिपुर अस्पताल नजिकको पाँचभाइ चिलाउनेको रुखमुनिको चौर त गोठालाको मुख्य खेल्ने थलोनै थियो । एकै ठाउँमा पाँचबाेट चिलाउनेको रुख हत्केलाका औँला जसरीनै वसेको थिए । त्यसैले पाँचभाइ भनेको होला । त्यहिँ नजिकैकाे लक्ष्मीकुवा हाम्रालागि तिर्खा मेटाउने थलाे थियाे । कीर्तिपुरबासीमात्र हैन तीनथानाबासी पनि  पानी नपाउँदा वा चिसाे र मिठाे पानी खानपर्दा अामाहरु यही कुवामा अाउँथे । ढुंगाले बनेकाे कुवा ठुलै थियाे । बाह्रै महिना पानीकाे पहुल हुन्थ्याे । कीर्तिपुरकी रानी कीर्तिलक्ष्मीकाे नामबाट यसकाे नाम लक्ष्मीकुवा रहन गएकाे पाे हाे कि ? लक्ष्मीकुवा अहिले पनी छदैँछ । यताकाे वनलाइ सानाेवन भन्थे । यसकै अलि तल ढुंगेधारा थियाे जसलाइ काल्धारा भनिन्थ्याे । याे कीर्तिपुरकाे वन र जुलफाँटकाे सीमानामै थियाे । किसानहरु यहीबाट टांफीमा  पानी भरेर खेत जान्थे भने फर्कदा यही धाराेमा हातगाेडा धाेएर घरितर लाग्थे । हामी चिलाैने र एेँसलुका पात धारामा राखेर पानी खान्थ्याै ।

दशैंताका कीर्तिपुरको कोतघरमा हनुमान ढोकामा फुलपाती जसरी भित्राइन्छ त्यसरीनै यहांँ पनि भित्राइन्थ्यो । जमरा राख्थे र ९ दिनसम्म तीनथानाकै मगरहरु गएर जमराको पूजा गर्थे । उनीहरु अहिलेसम्म पनि छँदैछन् । ०४७ , ०४८ सालबाट भने कोतघरमा यहाँका मगरहरु गएर जमरा राख्ने चलन हटाइयाे । अहिले काेतघरमा जमरा राख्ने फुलपाति भित्राउने काम हुन्छ हुन्न थाहा छैन ।

तीनथाना अथवा कीर्तिपुरको पश्चिमटृी डुप्पातिरवाट बल्खुखोलाको पुरानोपुल पारगरेपछि कीर्तिपुर पुग्ने तीनवटा वाटा छन् । तीनवटै बाटो ढुंगा छापिएका थिए । पहिलेको  पुरानो कीर्तिपुरलाई चारैतिर अग्ला ढुंगाको गाह्रोको गढ पर्खालले घेरिएको किल्ला भित्र मात्र थियो । पूर्व पश्चिम लम्वाइ रहेको कीर्तिपुरभित्र १४ वटा साना ठूला ढोकाहरु रहेका छन् । पर्खाल वाहिर एउटा पनि घरहरु थिएनन् । किल्ला वाहिर वनेका घरहरु पछि पंचायतकालमा थपिएका हुन् , ०३६ साल र ०४६ सालमा ।

वल्खुखोलामा रहेको पुरानो पुल तरेर तल्लोवाटो सिधैजाँदा खाँसिवजार पुगिन्थ्यो । कीर्तिपुर र आसपास गाउँका लागि खाँसिवजार उतिवेलाको ठूलो बजार हो । खाँसि बजार पुग्नु अगाडि गुहिनेटोल आउँथ्यो त्यो अति फोहर थियो ।  यतावाट जांदा पहिलो पोखरीलाई नेवारहरु नेपाल भाषामा ‘ लाभा पुखू’ भन्थे । त्यो पोखरी कटेपछि नाउ जोगलालको घर अगाडि अर्को पोखरी आउंथ्यो त्यो बीचको पोखरीलाई नेवारहरु ‘भिं पुखू ’ भन्थे । पहिले भिं पुखूमा दूध पोखरी देखि कुलो बनाइ पानी ल्याएर यसमा हालिन्थ्यो । पहिले पहिले यही पोखरीको पानी पुरै कीर्तिपुरवासीले बोकेर खाने गर्दथे रे । प्रहरी चौकी अगाडिको पोखरीलाई भने मभिं पुखू भनिन्थ्योँ । यसैको छेउमा ०४६ सालका ऐतिहासिक जनआन्दोलनमा चैत्र २० गते सहिद भएका लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली, र राजेन्द्र महर्जन समेत ४ जनाको सालिक रहेको छ । यी सहिदका मुर्तिहरु तीनथानाकै वलराम( रामकृष्ण) भण्डारीले वनाएका हुन् । तीनथानाबाट सहिदको मूर्तिलाँदा तत्कालिन एमालेकी नेतृ बिध्यादेबी भण्डारीले एक कार्यक्रमबीच हस्तान्तरण गर्नु भएको थियो । कीर्तिपुरबाट आएको ठूलो जन समुहले बाजागाजा सहित सहिदहरुको सालिक लगेका थिए । यसरी वस्ती भन्दा तल कीर्तिपुरको दक्षिण तर्फ लस्करै तीनवटा पोखरी थिए । उत्तर तितका सबै पोखरी पानी पानीले भरिएका हुन्थ्ये । लुगा धुने तथा भांडा भाज्ने, खेती किसानी गर्नेहरु, खेतवाट फर्केपछि हातगोडा धुने विहान सवैरै उठेर हात मुख धुने लगायत दिसा धुने काम पनि यही पोखरीमा गरेको देखिन्थ्यो । लामो समय सुख्खा अवस्थामा रहेको पोखरी अहिले भने जनप्रतिनिधि आइसकेपछि पुनः यी पोखरीहरुलाई पुरानै स्वरुपमा फर्काउने गरी काम भै रहेको देखिन्छ ।
दोस्रो वाटो बीचको ढुँगा छापेको बाटो थियो । जुन वाटोको माथि दाहिने पटिृ एउटा शिला लेख भएको गाडिएको ढँंगा थियो । ठाडो ढुँगा भनेर हामी भन्थ्यौ । यो बाटो समल पुगिन्थ्यो । कीर्तिपुर भरीका मृतकको लास बाहिर यही समल ढोका भएर वल्खुखोलामा रहेको चिहानमा अन्तिम संस्कारका लागि ल्याइन्छ । लास ल्याउँदा उतिवेला प्राय सवैको काल वजारएरै ल्याउँथे। हामी सानो छँदा प्राय दैनिकै दुइ तीनवटा लास नल्याएको विरलै हुन्थ्यो । अचेल शिक्षा स्वास्थ्य चेतनाका कारण अकालमा मर्नेको संख्या पनि ज्यादै कम देखिन्छ । चिहान भने पहिले देखिनै जाति पिच्छेकै थिए । अहिले झन् धेरै देखिन्छ । कालवजाएर लास ल्याउने चलन पनि कम भएकै छ ।

कीर्तिपुर र तीनथानाकाे सीमानामा रहेकाे बल्खुखाेलाकाे पानीबाट थुप्रै घट्ट चल्थे । चिहान नजिकै तीनथानाका सुवेदार हर्कबहादुर राउतले खाेलामा ठुलाे बाँध बाँधी अलिपर कीर्तिपुरकाे नाकेभिरमा जाेरघट्ट चलाएका थिए । जहाँ म पनि  पिठाे पिँध्न गएकाे छु । अर्काे  जाेर घट्ट  सानाेवनकाे मुखैमा थियाे ।यहाँ पनि धेरै टाढा टाढाबाट पिठाे पिँध्न मानिस अाउँथे । त्यसैले हाम्राे तीनथानाकाे पूर्वतर्फकाे पाखाेलाइ  घट्ट भएकाे तर्फकाे पाखा घट्टेपाखा भनि नामै दिइएकाे थियाे ।

समल जानेबाटोबाट गठेमँगलका दिन नर्कट, छ्वालीबाट बनाइएको गठामँग ( घण्टाकर्ण) लाई तीनथाना र कीर्तिपुरको सीमानामा रहेको बल्खुखोलामा सेलाउने ल्याउन चलन धेरै पहिलादेखिको हो । यही ढुंगेबाटोबाट घिसार्दै यता ल्याउन लागेका मानिसलाई तीनथानापटृीबाट भने ढुंगामुढा गरेर बल्खुखोलामा खसाल्न वा सेलाउन दिँइदैनथ्यो । हरेक वर्ष गठेमंगलका दिन दुवै तर्फवाट ढुंगा हान्ने, घुँयत्रो, गुलेली चलाउने गर्दथे । यता उता दुवै तर्फका धेरै मानिस घाइते हुन्थ्ये । हामी केटाकेटी त्यतिवेला गढेमँगल आउनु भन्दा अघि देखिनै ढुँगा , इँटाका टुक्राका थुप्रो लगाउँथ्यौ । राति अवेलासम्म पनि गठेमँगललाई बल्खुखोलामा सेलाउन दिंदैनथ्यौ । पछि एकदुई पटक ठुलै युद्ध मान्छे मर्नेसम्मका घटना घटे पछि भने धेरै वर्ष अघि देखि ढुँगाहान्ने चलन रोकियो । अचेल कीर्तिपुरबाट पनि बल्खुखोलामा गठेमँगल सेलाउने कार्य भएको देखिदैंन ।
तेस्रो माथिल्लो ठाडो बाटो पनि ढुंगा छापिएको बाटो थियो । जुन वाटोवाट देवढोका (देवताको ढोका ) जाने बाटो हो । त्यो ऐतिहासिक देवढोका अहिलेसम्म जस्ताको तस्तै छ । देवढोकासंगै रहेको ऐतिहासिक पाटीमा विहान विहान दाफा भजन भैरहन्छ । वाघभैरव जान पर्दा यही वाटो जानु पथ्र्यो । देवढोकाको अगाडि इन्द्रायणीको मन्दिर छ , जहां विहानै दर्शन गनेर्को भिड हुन्छ । कीर्तिपुर सहर वाहिर रहेको इन्द्रायणीको जात्रा हरेक वर्ष पौष सङक्रान्तिका दिन धुमधामसँग मनाइन्छ । यस दिनलाई कीर्तिपुरवासीहरुले सवभन्दा ठूलो पर्वका रुपमा लिन्छन् । कीर्तिपुर नगरपालिका हुनुभन्दा अघि कीर्तिपुरभित्र चिठुविहार, लायकु, बाघभैरव र बाहिरीगाउँ समेत ४ वटा गाविस थिए । मल्लकालिन पुराना शैलीका सरचना तथा  घरहरु भत्कदै ०४६ साल यता अाधुनिक घरहरु बन्दै गएकाछन् । कीर्तिपुरलाइ विश्वसम्पदामा राख्ने कुरालाइ यसले ठेस पुगाउला जस्ताे लाग्छ ।

इन्द्रायणी मन्दिर अगाडि एउटा पुरानो सानो पोखरी थियो । जुन अझै पनि छ । कीर्तिपुर नगरपालिका भए पछि कार्यालय यही पोखरी अगाडि रहेको छ । जहां हामी गोठाला जांदा सानो पोखरीमा निकै पौडि खेल्थ्यौ । पोखरीको डिलमै लाेंहकोटबाट आएको खानेपानीको एक धारा यहाँ खोलिएको थियो । जसवाट संधै पानी खसिरहने भएकोले अरु पोखरी भन्दा अलि सफा हुन्थ्यो । यहाँ अहिले पनि पोखरीको छेउमा सार्वजनिक रुपमा धारो रहेकै छ । यससँगै पाखामा रोपवे( रज्जुमार्ग) का अलि होचा दुइवटा खम्वाहरु थिए, अझै पनि छन् । खोलामा पौडिखेले पछि गोठाला आउँदा दोस्रो खेल यही रोपवेको खम्वामा चढेर भेट्टाइ खेल्थ्यौ । बुद्ध गुम्वाका रुपमा ढुँगाले गाह्रो लगाएको सानो घरमा गुम्वा थियो । टुंसिङद्धारेले चलाएका थिए । उनको साविक घर कीर्तिपुरनै हो । उनले पहिले द्धारे समेत भएर काम गरेका थिए । टुंसिङद्धारेका छोरा रत्न वहादुर मानन्धर पछि तीनथानाकै प्रधानपंच समेत भएका थिए । गुम्वा अगाडि अमलाको रुख भएकोले हामी अमला फल्ने समयमा अमला चोर्न जान्थ्यौ । टुसिङद्धारेले अमला चोर्नजांदा हामीलाई धेरै पटक लखटेका छन् । अहिले त्यहाँ ठूलो बौद्ध गुम्वा बनेको छ । सफा र सुन्दर बगैँचा छ , हेर्न जाने मानिस थुप्रै हुन्छन् । उतिवेला गुम्वाभित्र हामीलाई भित्रन प्रेरित गर्ने त्यो अमलाको रुख भने सुकेको भए पनि अझै छ ।
यता वाट बिश्वविद्यालय जाने वा बागमती खोलामा भएको लच्कनेपुल तरेर लगन खेलमा रहेको सदर चिडियाखाना जान सकिन्थ्यो । यही वाटो गए पछि पनि एउटा पोखरी कीर्तिपुरको उत्तर पटिृको भागमा दुइवटा पोखरी दक्षिण तर्फको भन्दा साना थिए । दुवै पोखरीको बीचमा एउटा पुरानो पाटी थियो अहिले मर्मत पछि सुन्दर पाटी भएको छ । पाटी अगाडिको सार्वजनिक पोखरीमा भने अहिले विष्णुदेवी अस्पतालको भवन र कम्पाउण्ड वालले घेरिएको छ । अलिपर विजुलीपाटी थियो । जहाँ कीर्तिपुरमा विजुली लान मेसिन राखिएको थियो । यहीवाट उक्लेर वाघभैरवको मन्दीर जान मिल्थ्यो । अहिले यो बाटोमा ढुँगाको राम्रो ११६ वटा खुड्किला रहेको सिँढी बनेको छ । बाघ भैरवको मन्दीर पछाडि उत्तर तर्फ बाघभैरव सार्वजनिक स्कुल थियो । यही स्कुलमा हामी केटाकेटीछंदा ‘रामतेरी गंगामैली’ भन्ने सिनेमाको केही सो चलेको थियो । स्कुल अहिले यहाँबाट हटेर पाखामा बनेको छ । गाइवाख्रा गोठाला लाग्दा आफु खेल्नमै रमाउँदा बीउ बाली खाएर हाम्रो गाइवस्तु धेरै पटक कीर्तिपुरका कान्जी हाउसमा थुनेका छन् । एक पटक चराउन लगेका मेरा चार पाँचवटा खसी वाख्रा हराएको चार पाँच दिनपछि कीर्तिपुसरबाट आमाले फिर्ता ल्याउनु भएको थियो ।
ऐतिहासिक सहर कीर्तिपुर नामाकरण कसरी भयो भन्ने ’boutमा कीर्तिपुरबासीका रोचक भनाइ छ ‘ प्राचिनकालमा यसको नाम पद्यमकाष्ठपुर थियो । एकदिन किसानकोमा भिक्षा माग्दै जोगी आएछन् । मुलाको बीउ केलाइरहेका किसानले यहाँ के छ र दिनु भन्दै एक मुठी मुलाको बीउ दिएछन् । जोगीले यो के हो भनेर सोधेछन् । किसानले केपु भनेछन् । नेवारी भाषामा केपु भनेको मुलाको बीउ हो । मलाई केपु दियौ अवउप्रान्त यस देशको नाम पनि केपु नै रहोस भन्दै जोगी हिंडेछन् । त्यसपछि नै पद्यमकाष्ठपुरबाट कीर्तिपुर रहेको भन्ने एउटा भनाइ छ भने अर्को भनाइमा पशुपतिको श्लेषमान्तक वनमा गै केपुको गाइले दूध चढाउन थालेपछि केपुको नाम जताततै चल्न थाल्यो । केपुको गाइआइ कीर्तिराख्ने काम भएकोले सवैले कीर्तिपुर भन्न थाले भन्ने जनश्रुति पनि छ ।
पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने सिलसिलामा मेरो गाउँ तीनथानाको नाम पनि जोडिएको छ । हाम्रो पुस्ता उतिवेला एकिकरणमा भागलिंदै कीर्तिपुरको लडाइमा सहभागीहुन आउँदा यतै बसेका हुन् भन्ने पुर्खाको भनाइ छ । हाम्रो पुर्खाले उतिवेलै देखि आफनो देवाली पुजा कीर्तिपुरकै वनमा आजसम्म गर्दै आएको छ । तीनथानाको उचाभागमा कीर्तिपुरसँग लड्दा बनाइएको ऐतिहासिक गढी अझै छ । दहचोक कव्जामा लिएपछि त्यतैबाट पृथ्वीनारायण शाहले पहिलो पटक बि.सं. १८१४ जेठ १९ गतेका दिन कीर्तिपुर आक्रमण गरेका थिए । आक्रमण गर्न दहचोक ( इन्द्रदह ) बाट ओर्लेर नैकाप, तीनथाना हुंदै कीर्तिपुर ट्याङलाटारको उकालो चढ्न लाग्दा कीर्तिपुर राज्यका प्रधान सेनापति काजी धनवन्तको नेतृत्वमा सेनाहरु र त्यहाँका जनताहरु कुटो कोदालो, र डल्याँठा समेत बोकी डाँडाबाट ओर्लेर टयाङलाफाँटमा दुवै पक्षको जम्काभेटमा ठूलो युद्ध भयो । सेनापति कालु पाँडेको मृत्यु भयो । पहिलो युद्धमा बीर कीर्तिपुरे जनताले पृथ्वीनारायण शाहका सेनालाई भगाएका थिए । कीर्तिपुरका बासुपासाले आफनो पुस्तक ‘कीर्तिपुर ’ मा मा पनि यस्तै उल्लेख गरेका छन् । कालु पाँडेको टाउको लिन सफल भएका सेनाले कालुपाँडेको इच्छा अनुसार दहचोकको इन्द्रदह नजिक गोरखाराज्यतिर फर्काएर उनको टाउको समाधिस्थ गएिको छ । कीर्तिपुरसँगको युद्धमा सूरप्रताप शाहको आँखा फुट्यो, दलजीत शाह मरे । बीर कीर्तिपुरवासीसँग तेस्रो पटक लड्दा बल्ल १८२२ चैत्र ३ गते कीर्तिपुर विजय गरेको इतिहास छ । कीर्तिपुरको विजय पश्चात बि सं १८२५ असोज १३ गते काठमाण्डौ जित्न सफल भए । विस १८०१ असोज १५ गते नुवाकोटबाट राज्यविस्तार वा एकिकरणको अभियान थालेका उनले निरन्तर पटक पटकको संघर्ष र परिश्रमपछि नै नुवाकोटबाट साँढे सात कोषको फासलामा रहेको काठमाण्डौ जित्न उनलाई २५ बर्ष लाग्यो ।
कीर्तिपुरलाई ऐतिहासिक रुपमै राख्न कीर्तिपुर वासी लाग्नु पर्छ । कला संस्कृतिलाई बचाउन युवा पुस्तामा सार्नु पर्छ । अचेल दाफा भजन गाइरहने समुहमा युवापुस्ता देखिदैंनन् । गुँलापर्वको यात्रामा भने केही देखिन्छन् । हरेक भाद्र १ गते नागपञ्चमीको भोलीपल्ट बाघभैरवको जात्रा लाग्छ । बाघभैरवलाई कीर्तिपुरको रक्षक ठानिन्छ । विहान बाघभैरवमा पूजा गर्ने वत्ति बाल्नेको ठूलो भिड लाग्छ । बाघभैरवको जात्रा भने बेलुका ५ वजेतिरबाट शुरु हुन्छ । बाघभैरव अगाडि रहेको ‘देय पुखू ’देशको पोखरीलाई चारैतिर पक्कि पर्खाल लाएर पहिलेको भन्दा राम्रो बनाइ पोखरीमा पानी जमाइएको छ । देय् पोखरीको ठीक पश्चिमपटृी उतिवेला निकै चलेको परोपकार अस्पताल थियो । त्यहाँ तीनथानावासीहरु पनि निकै जान्थे । म पनि घाउ खटिरा आएर धेरै पटक गएको छु । अहिले यो भवन पुरानै शैलीमा वन्दै गरेको देखिन्छ । विहान देवढोकावाट बाघभैरवजाँदा वा कीर्तिपुर बिहान घुम्दा आफना घर अगाडि गोलो आकारमा वनाइएको सूर्यलाई लिपपोत गरी पुजाआजा गरेर बत्ति बालेको दृश्य र थाली बोकेर बाघभैरव र इन्द्रायणी मन्दिर जाने महिलाको लस्कर पनि देख्न पाइन्छ । अचेल कीर्तिपुरको नेवार वस्तीमा घुम्दा हाकु पटासी लगाउने महिला भने भेटिन्नन् ।
गुँला पर्वका अवसरमा टोलटोलबाट विहान बाजागाजा सहित भैंसीको सिङ पनि बजाउंदै केटाकेटी लगायत सवै उमेरका भेला भएर बाघभैरव इन्द्रायणी मन्दिर घुमेको देखिन्छ । आजभन्दा चारसय वर्ष अघिनै कवि राजा सिद्धिनरसिंह मल्लले नेपाल भाषामा ३२ वटा रागमा दाफा लेखेको भनिन्छ । खिं, टां ( फलामको सानो झ्याली ) र पोङगा बजाएर ठाउं ठाउंमा भजन हुन्छ अझ गुँलापर्व लागेपछि त सबै पाटीमा बृद्धबृद्धाहरु दाफा भजनमा मस्त देखिन्छन् । मन्दिरहरुमा वज्ने घँटको आवाजले मानिसलाई मन्त्रमुग्ध पार्छ । ठाउँ ठाउँमा रहेका चैत्यहरुमा पुजाआजा गर्ने महिलाहरुको लस्कर देखिन्छ । गठु नाच त हामीले केटाकेटी देखिनै हेरेका हौँ । हरेक १२ वर्षमा मुकुन्डो पोल्ने भनेर वल्खुखोलामा रहेको चिहान आसपास रातको समयमा यो काम गरिन्थ्यो । यो मुकुन्डो पोलेको हेरेमा रोग व्याधी हट्छ भनेर आमाहरुले उतिवेला आ आफना स साना नानीहरुलाई देखाउने चलन पनि थियो । कृष्ण अष्टमी जात्रा ,इन्द्रायणी जात्रा, लाखे नाच र आदीनाथमा माघ महिनामा वस्ने निराहार ब्रत आदि कीर्तिपुरका आफनै साँस्कृतिक सम्पदा हुन् ।
गाइजात्राका दिन पाटनमा मतयाको रुपमा, काठमाडौंमा साया ( सापारु ) का रुपमा , भक्तपुरमा विभिन्न वाजागाजा र नाच सहित घिंताङ घिसिङ गर्दै गाइजात्रा मनाइन्छ । गाइजात्राका दिन कीर्तिपुरमा भने ‘धें धें पापा’ नाच निकालिन्छ । इतिहासविद् तीर्थ महर्जनका भनाइ अनुसार यो नाच कीर्तिपुर र पाँगामा वाहेक अन्यत्र छैन । यहाँ निकालिने गाइजात्राको पनि विशेष महत्व छ । अन्यत्र जस्तो आ आफना हिसावले गाइजात्रा निकालेर नहिंडि सवै भेला भएर एकसाथ देश घुमाइन्छ । कीर्तिपुरभित्रका १४ टोलले पालैपालो गाइजात्रा निकाल्छन् । जुनटोलबाट गाइजात्रा निकाल्ने हो त्यही टोलको गणेशस्थानमा गाइजात्रामा निस्कने देवीदेवताहरुको मुकुट पुजा सङकल्प गरिन्छ । यसपाल मानोट्वा ल्वहदेंगः टोलको पालो थियो । गाइजात्राको नाच पनि तिनै टोलको तोकिएका स्थानमा भेलाभै देखाइन्छ । गाइजात्राको दिन मृतकहरुको नाममा गाइ जोगी बनी घुमाउने गरिन्छ । मृतक महिलाको छोरा वा लोग्नेले महिलाकै भेष भुषामा सजिएर जात्रामा सरिक भएको देखिन्छ । केही वर्ष अघिदेखि कीर्तिपुरमा निस्कने जात्रामा पश्चिमा शैलीका मुकुण्डोहरु लगाएर विभिन्न भेष भुषामा युवाहरुले भागलिएको देखिन्छ । गाइजात्राकै दिन बेलुका तिर बाघभैरव अगाडिको ‘देव पुखू’ मा मकै, रांगाका खुटृा फालिन्छ । मानिसहरु पौडि खेलेर त्यसलाई छोप्छन् । कीर्तिपुर ऐतिहासिक, सांस्कृतिक जात्रापर्व जस्ता परम्पराले पनि सम्पन्न छ । कलात्मक मठ मन्दिरले पनि कीर्तिपुर धनी छ । यहांको बाघ भैरव, उमामहेश्वर, चिलन्चो विहार, आदि ऐतिहासिक सहर कीर्तिपुरमा बिहार चैत्य ल्हो देग,मजा देग, चुन दे, चिठु विहार, इन्द्रायणी, नगर मण्डप, कीर्तिविहार, र पुराना पोखरीहरु हेर्दै अहिले पनि कीर्तिपुर घुम्दा पुरानो ऐतिहासिक सहरको झझल्को अझै दिन्छ ।
जय ब्लग ।

२०७४।७

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )


%d bloggers like this: