Archive for अगस्ट, 2019

उतिवेलाका डाक्टर चिन्यामान

अगस्ट 2, 2019

उतिवेलाका डाक्टर चिन्यामान
गोपीचन्द्र कार्की
हामी सानो छंदा अर्थात आजभन्दा पचास वर्ष अघि बा आमालाई पिराउँदा वा झगडा गर्दा बा आमा भन्नु हुन्थ्यो ‘ सुईहाल्ने मान्छे बोलाइदिउँ’ । अलि धेरै हराम भए धोक्रामा मान्छे हालेर लाने गठेलाई बोलाइदिउँ । घर बाहिर यता उता हिंड्न खोजे, ‘गठे आउंछ , धोक्रामा हालेर लान्छ जानुहुन्न’ भन्थे । गठे भनेका चांहि खोकनादेखि तेल बोकेर घर घरमा तोरीसंग साट्न आउने मानिस । उनीहरुको पहिरन घुंडाभन्दा तलसम्म आउने लामो सेतो दौरा र सेतै धोति बेरेका हुन्थे । कपाल जुरो बानेको हुन्थ्यो भने कसैको बाटेको । आमा बा ले भनेको त्यही सुई हाल्ने मानिस चांहिँ मैले देखेको पहिलो डाक्टर  कालिमाटीका चिन्यामान हुन् । उनको त्यतिवेलाको सुई सिरिन्ज देखेर हाम्रो सातो पुत्लो जान्थ्यो । सिलावरका भांडामा उनका सिरिन्ज पाक्थे । उनको घर कालिमाटीमा थियो । चार कक्षाबाट पढ्न शुरु गरेकोे जनप्रभात मावि कालिमाटी – (अहिले सीता पेट्रेलपम्प भएको ठाउं ) भन्दा अलि उत्तर, जीवनदाईको पसल भन्दा अलि यता मुल सडककै लाइनमा थियो । गाउँ गाउँमा आएर घरघरमा विरामीको सेवा गर्ने डाक्टर उनै चिन्यामान थिए । त्यतिवेला उनलाई चिन्यामान कम्पाउन्डर भनेर सवैले चिन्दथे ।
रात विहान जुनसुकै वेलामा पनि केटाकेटा विरामी हुन् वा वुढावुढी वा महिला विरामी हुन् उनैको उपस्थिति हुन्थ्यो । सहरमा छाउनी, ताहाचल, कालिमाटी , टंकेश्वर मात्र हैन दक्षिण पश्चिम भेगका गाउं तीनथाना, नैकाप, पुरानो नैकाप स्यूचाटार सीतापाइला आदि ठाउँमा साइकल चढेरै पछि सम्म पनि आउँथे । मसिनो स्वरमा बोल्ने सेतो गहुंगोरो, अग्लै थिए चिन्यामान । मलाई याद भए सम्म उनी संधै दौरा सुरुवाल र कोट लगाउँथे । टोपी लगाएको भने याद छैन । उनको साइकलको पछाडि क्यारिएरमा छालाको व्याग हुन्थ्यो । त्यही व्यागमा औषधीहरु ट्यावलेट , स्टेथिस्कोप, सुइ, कपास, डिग्री आदि हुन्थे ।
घरमा विरामी परे पछि उनलाई लिन कालिमाटी जानु पथ्र्यो । त्यतिवेला फोनको कुनै सुविधा थिएन । सार्वजनिक यातायात पनि थिएन । घरमा बोलाउन जाने मानिस नहुनेले जागिर खान काठमाडौं सहर जानेलाई भनि पठाउँथे । उतिवेला हिंडेरै जान पर्ने भएकोले चिन्यामान कम्पाउन्डरकोमा विरामीको ठाउं ठेगाना वताइ दिएर जान्थे जागिरे । खवर भएपछि चिन्यामान विरामीकोमा आइपुगि हाल्थे । कतै गएका भए अलि समय लगाएर आइहाल्थे । उनका अनुभव र विरामीप्रतिको सद्भाव हेरचाहले धेरैलाई अकालमा ज्यानजानबाट वचाएका थिए । उपचार गराउंदा पैसा तत्काल भएन भने पनि पछि कालिमाटीमा आएर दिन्छु भन्दा मान्थे वा उनीसंग राम्रो हिमचिम भएकाले म जिम्मा भएं, म ल्याइदिन्छु भनिदिए हुन्थ्यो । मेरा बालाई आउं मासी छुरै रगत दिसामा आइ हलचल गर्न नसक्ने सिकिस्त हुनु भएका मानिसलाई पनि उनैले वचाएका हुन् । मेरो घरसंगैको दिदीको पेटको ठूलो घाउ उनैले पिंढिमै वसेर चिरेका थिए । पित्तलको कोपरामा पिल्लिएको रगत र पिप थापेर फालेका थिए । पांच हातको पहेंलो गज कोचेका थिए । बिहान वेलुकै आएर घाउ सफा गरिदिन्थे ।
त्यतिवेला झाडा पखाला आउं रगत जे परे पनि उनीनै आएर हेर्थे । कालिमाटीमा उनको क्लिनिक थियो । क्लिनिकमा विरामी पनि हेर्थे । कतिले रोग वताएरै औषधी लिएर जान्थे । घरमा ल्याउन लिन जांदा विरामीको लक्षण बताइदिनु पथ्र्यो । विरामीकोमा जांदा उनले आफनो झोलामा त्यही अनुसारका औषधी राखेर ल्याउंथे । केही औषधी पुगेन वा छुट्यो भने उनकै कालिमाटीको पसलमा लिन जानु पथ्र्यो । अन्यत्र कहिं कालिमाटी यता औषधी पसल थिएन । अझ नियमित हेर्नु पर्ने सुइ लगाउनु पर्ने विरामीकहाँ त विहान वेलुका उनै टुप्लुक्क आइपुग्थे । उनले घरघरमा गएर विरामी हेर्ने र आफैले उपचार गर्न नसक्ने भएमात्र वीर अस्पतालमा पठाउने गर्थे । औषधी पनि मिश्रण विधिको हुन्थ्यो । विभिन्न चक्कीहरु पिसेर धुलो पारेर विरामीलाई खुवाउन दिन्थे । तत्कालिन अवस्थामा प्रयोगशाला परीक्षणजस्ता विधि थिएनन् । उनीहरुले जस्तोसुकै जटिल रोगीहरुलाई पनि आफनो अनुभव र ज्ञानका आधारमा काम गर्थे । त्यसबेला महामारीको रुपमा रहेका रोग झाडा पखाला, आउंरगत, टाइफाइड , हैजा, क्षयरोग जस्ता रोग अहिले सामान्य भएका छन् । तर नयां नयां रोगको प्रकोप भने बढ्दै छ ।
चिन्यामान पछि कीर्तिपुरका इसिलाल (इश्वरलाल) कम्पाउन्डर पनि घर घरमा आएर विरामी जांच्ने औषधी दिने , सुइ लाउने , घाउ खटिरा चिरफार गर्ने आदि काम गर्थे । कीर्तिपुर पांगा, नगाउं मच्छेगाउं र दक्षिण पश्चिम भेगका गाउं गाउंमा इसिलाल पनि पुग्थे । धेरै अस्पताल खुलि सक्दा पनि इसिलालको घरमै धेरै मानिसहरु जचाउन जान्थे । कीर्तिपुरका व्रम्हचा कम्पाउन्डरले भने आफनै घरमा जाच्ने र औषधी दिने घर घरमा आउने गर्दैनथे । हात खुटृा मर्के भांचिए कीर्तिपुरकै जोगलाल नाउ घर घरमा आइ लेप लगाउने गर्थे । उनी खेलाडीहरुको उपचार पनि गर्थे । मैले चिन्यामान, इसिलाल र व्रम्हचा, जोगलाल सबैसंगव डाक्टर मानेर विरामी हुंदा समय समयमा चजाएको छु । उनीहरुका औषधीले धेरै रोगहरु निको भएको थियो । अहिले यातायातको साधन र सुगमता हुंदा पनि यसरी विरामीका घर घरमा पुगेर जाच्ने कम्पान्डर भेटिदैनन्, छैनन् ।
हामी केटाकेटी हुंदा अस्पतालको नाउं सुनेको पुरानो वीर अस्पतालमात्र हो । अलि साह्रो विरामी पर्दा त्यही जचाउन लग्नु हुन्थ्यो । पछि गोराहरुले शान्तभवनमा चलाएको र शान्तभवन अस्पतालमा पनि आमाले पिठ्यूंमा बोकेर बहिनीहरुसम्मलाई जचाउन लग्नु हुन्थ्यो । पछि त्यही शान्तभवनको अस्पताल पाटन अस्पताल बन्यो । महाराजगंजमा टिचिङ अस्पताल खुल्यो । केटाकेटीका लागि कान्ति अस्पताल खुल्यो । प्रसुति सम्वन्धि प्रशुति अस्पताल थापाथलिमा खुल्यो । सरुवारोग सम्वन्धी अस्पताल टेकुमा खुल्यो । आंखा सम्वन्धि आँखा अस्पताल त्रिपुरेश्वरमा खुल्यो । क्षयरोगका लागि क्षयरोग अस्पताल कालिमाटीमै खुल्यो । मानसिक रोगीका लागि मानसिक अस्पताल पाटनको लगनखेलमा खुल्यो । अचेल त अस्पताल कति हुन् कति घरै पिच्छे अस्पताल भै सके अस्पताल अनुसार विरामी पनि कति हो कति र रोगहरु पनि नयां नयां देखा परिरहेका छन् । डाक्टर पनि थुप्रै भै सके । स्वास्थ्य क्षेत्रमा मारेको फड्कोका कारण मानिसको मृत्युदर पनि निकै कम हुंदै गएको छ । अचेल असी नव्वे वर्षका मानिस पनि ठमठम मजाले हिंडडुल मजाले गरेको देखिन्छ । स्वास्थ्य क्षेत्रमा एउटा ठूलो फड्को त मारेकै छ तथापी निजी क्षेत्रको पकडमा पुगेका अस्पतालहरु सेवामुखि भन्दा व्यापार मुखि भने बन्दै गएका छन् ।
( पुनश्च ः मेरो चाैथाे अप्रकाशित पुस्तक भोगाइका कथा बाट ।
यो लेख नेपालप्लस डटकममा गएर पनि हेर्न सकिन्छ ।