Archive for the ‘कुरैकुरा’ Category

मेरो ऐतिहासिक सहर कीर्तिपुर

सेप्टेम्बर 10, 2018

मेरो ऐतिहासिक सहर कीर्तिपुर
गोपीचन्द्र कार्की

 

कीर्तिपुर आफैमा एउटा पुरानो ऐतिहासिक सहर हो । ऐतिहासिक सहर कीर्तिपुर घुम्दा कलासंस्कृति , मठमन्दिर चैत्य र चाडपर्वले भरिभराउ भएको पाइन्छ । पाटीपाैवा ढु‌‌गेधारा तथा पाेखरी यहाँका अर्काे बिशेषाता हाे ।  गुँलापर्व शुरु भएपछि त कीर्तिपुर सहरका गल्ली टोलमा रहेका पाटी पौवाहरुमा विहानै देखि नेपाल भाषाका भजन कीर्तनले गुन्जायमान हुन्छ । कीर्तिपुरका रक्षकको रुपमा मानिएको बाघभैरव मन्दिरमा विहानै देखि भक्तजनहरुको सँधै घुइचो लाग्छ । कीर्तिपुरको उच्चस्थानमा रहेको कोतघर र उमामहेश्वरको मन्दिरमा दर्शन गर्नेहरु र उपत्यका हेर्न आउनेहरुको को सँधैनै भिड देखिन्छ । कीर्तिपुर पुग्दा नेवार कला संस्कृति परम्परा  जात्रापर्व र नेवारी जीवनशैलीको संग्रहालय जस्तै लाग्छ ।हरेक बिहान महिलाहरुले घरकाे मुलढाेका र मुलढाेकाकाे सीधा अघिल्लतिर स्थापना गरिएकाे गाेलाकार ढुँगाकाे देवतालाइ नेपाल भाषामा  पिखालाखु भनिन्छ ।हाम्रातिर अाधुनिक घरहरु बन्दै गएपछि दैलाे स‌ँगठेलाे राताेमाटाेले पाेत्ने चलन हराउँदै गएपनि कीर्तिपुरमा महिलाहरु भने दैनिक राताेमाटाेले दैलाे लगायत पिखालाखुमा पाेत्नेकाम अहिले पनि गरिन्छ । राताेमाटाेले गाेलाकार पारेर पाेतेपछि त्यसमा जल चढाउँदै बत्ति बालिन्छ ।

भूकम्पले क्षति पारेर बन्दै गरेको चिलन्चो विहार ( जगतपाल विहार ) वि.सं. १५७२ मा स्थापना भएको हो, जहाँ घुम्न आउने पर्यटकहरु संधै भेटिन्छन् । उमामहेश्वरको डवलीबाट उपत्यका छर्लङ देखिन्छ । उमा महेश्वरको मन्दिरमा अहिले रहेको ठूलो घंटामा इ.सं १८९५ उल्लेख छ । यो घंटा पहिला पहिला बज्दा पुरै कीर्तिपुर र हाम्रो गाउँघरतिर पनि मिठो धुन टनन.. .टङटङ. गरेर बज्थ्यो । तर अहिले घंटको एकातिर फुटेकोले खासै आवाज आउँदैन । अझ यस भन्दा पहिलेको यहाँकाे घंटा बज्दा पुरै काठमाडौँ, भक्तपुर र ललितपुर तीनै सहरमा गुन्जन्थ्यो रे । त्यो घंटा चोरेर भक्तपुरलाने क्रममा बीचैबाट पाटन दरवारमा पुगेको रहछ । पाटनको नर्सिङ दबुली अर्थात कृष्णमन्दिरको चोकबाट अहिले पनि कीर्तिपुरको त्यो चोरिएको घंटा देख्न सकिन्छ भनेर कीर्तिपुरका बुढापाकाहरु भन्छन् ।
वारी तीनथाना पारी कीर्तिपुर साँधमा बल्खुखोला । सानै देखि देखेको कीर्तिपरमा पाइलैपिच्छे कलात्मक मन्दिर, चैत्य, ढुंगेधारा र कलात्मक झ्यालढोका आदि देख्न पाइन्थ्यो । कीर्तिपुरमा प्राय बौद्धधर्म मान्नेहरु रहे पनि मठ मन्दिर चैत्य, गुम्वा स्तुप भने बौद्ध र हिन्दुधर्मका सरोवर देखिन्छन् । हाम्रोतिर हिले धुले बाटो छँदा उता कीर्तिपुर सहरभित्र जताततै ढु‌ँगा  विच्छाइएका वाटाहरु हिँड्न पाइन्थ्यो । एेतिहासिक सहरकाे महत्व कायम राख्न  अहिले अजै ब्यवस्थित रुपमा मुख्य चाेकदेखि टाेलटाेलमा ढुँगा विच्छाइएकाे पाइन्छ ।छ सात वर्ष देखि गाइगोठाला जान थाले देखिनै कीर्तिपुरको सेरोफेरो लगाएको छु । सुरुमा हाम्रो खानेपानीको स्रोत कीर्तिपुरनै भएकोले खानेपानीका सिलसिलामा पनि धेर्रै पटक आइजाइ हुँदा थुप्रै साथीसँग यही वेला चिनजान  भयो । कीर्तिपुरका पुराना मानिसले अझै पनि हामीलाई डुप्पा बासी भनेरै चिन्छन् । बल्खुखोलाको दिःखुमा रहेको चिहान पश्चिम हाम्रो गाउँ भएकोले डिपा अर्थात चिहान नजिकैको गाउँ भएकोले हामी डिपा बाट अपभ्रंस भएर डुप्पाबासी भयौँ  भन्ने मेराे अनुमान छ।
अस्पतालका नाममा बीरअस्पताल र कालिमाटीका कम्पाउण्डर चिनियामान वाहेक हाम्रालागि उतिवेला औषधी गर्ने अर्को  नजिकको ठाउँ अर्थात कीर्तिपुरका इसीलाल (इश्वरलाल ) र व्रम्हचा थिए । कपाल काट्न, हात खुटृा मर्के भाँचिए नाउ जोगलाल बा र भाँडाकुँडा वनाउन पाइन हाल्न कर्मीका घरमा कीर्तिपुर जानै पर्ने थियो । कपाल काट्ने र भाँडाकुँडा पाइन हाल्नेले भने वर्षेनी बाली लान्थे । यसरी किर्तिपुरसँग मेरोे सम्वन्ध वालापन देखिकै हो । हाम्रो गाउँतिर पनि कीर्तिपुरेको प्रसस्तै जग्गा जमिन भएकाले उनीहरुको पनि यता त्यस्तै सम्वन्ध थियो । कीर्तिपुरको इन्द्रायणी मन्दिर तल ठूलो ढुंगा थियो, जहाँ हामी गोठाला गए पिच्छे त्यसलाइ हात्ती सँझेर चढ्थ्यौँ । साँच्चै त्यो अजङगको ढुंगा अहिले छैन, त्यस ठाउँमा घर वनिसके । अर्को खाँसि वजारतिर जाने ठाउँमा भएको ढुंगामा खोपो जस्तो थियो जहाँ हामी ढुँगा फालेर खेल्थ्याैँ । चिहान नजिकै पनि यस्ता अचम्मसँग अडेका ठूला ढुंगा थिए तिनमाथि चढेर हामी खेल्थ्याैँ । ती आज छैनन् ।  चिहान दहमा पाैडी खेलेपछि चिहानसँगैकाे पुरानाे पाटीभित्र रहेका फलामे डँडीमा बाँदर रमाए जसरी रमाएर तेलकासा खेल्थ्याैँ । त्यस्तै  कीर्तिपुर अस्पताल नजिकको पाँचभाइ चिलाउनेको रुखमुनिको चौर त गोठालाको मुख्य खेल्ने थलोनै थियो । एकै ठाउँमा पाँचबाेट चिलाउनेको रुख हत्केलाका औँला जसरीनै वसेको थिए । त्यसैले पाँचभाइ भनेको होला । त्यहिँ नजिकैकाे लक्ष्मीकुवा हाम्रालागि तिर्खा मेटाउने थलाे थियाे । कीर्तिपुरबासीमात्र हैन तीनथानाबासी पनि  पानी नपाउँदा वा चिसाे र मिठाे पानी खानपर्दा अामाहरु यही कुवामा अाउँथे । ढुंगाले बनेकाे कुवा ठुलै थियाे । बाह्रै महिना पानीकाे पहुल हुन्थ्याे । कीर्तिपुरकी रानी कीर्तिलक्ष्मीकाे नामबाट यसकाे नाम लक्ष्मीकुवा रहन गएकाे पाे हाे कि ? लक्ष्मीकुवा अहिले पनी छदैँछ । यताकाे वनलाइ सानाेवन भन्थे । यसकै अलि तल ढुंगेधारा थियाे जसलाइ काल्धारा भनिन्थ्याे । याे कीर्तिपुरकाे वन र जुलफाँटकाे सीमानामै थियाे । किसानहरु यहीबाट टांफीमा  पानी भरेर खेत जान्थे भने फर्कदा यही धाराेमा हातगाेडा धाेएर घरितर लाग्थे । हामी चिलाैने र एेँसलुका पात धारामा राखेर पानी खान्थ्याै ।

दशैंताका कीर्तिपुरको कोतघरमा हनुमान ढोकामा फुलपाती जसरी भित्राइन्छ त्यसरीनै यहांँ पनि भित्राइन्थ्यो । जमरा राख्थे र ९ दिनसम्म तीनथानाकै मगरहरु गएर जमराको पूजा गर्थे । उनीहरु अहिलेसम्म पनि छँदैछन् । ०४७ , ०४८ सालबाट भने कोतघरमा यहाँका मगरहरु गएर जमरा राख्ने चलन हटाइयाे । अहिले काेतघरमा जमरा राख्ने फुलपाति भित्राउने काम हुन्छ हुन्न थाहा छैन ।

तीनथाना अथवा कीर्तिपुरको पश्चिमटृी डुप्पातिरवाट बल्खुखोलाको पुरानोपुल पारगरेपछि कीर्तिपुर पुग्ने तीनवटा वाटा छन् । तीनवटै बाटो ढुंगा छापिएका थिए । पहिलेको  पुरानो कीर्तिपुरलाई चारैतिर अग्ला ढुंगाको गाह्रोको गढ पर्खालले घेरिएको किल्ला भित्र मात्र थियो । पूर्व पश्चिम लम्वाइ रहेको कीर्तिपुरभित्र १४ वटा साना ठूला ढोकाहरु रहेका छन् । पर्खाल वाहिर एउटा पनि घरहरु थिएनन् । किल्ला वाहिर वनेका घरहरु पछि पंचायतकालमा थपिएका हुन् , ०३६ साल र ०४६ सालमा ।

वल्खुखोलामा रहेको पुरानो पुल तरेर तल्लोवाटो सिधैजाँदा खाँसिवजार पुगिन्थ्यो । कीर्तिपुर र आसपास गाउँका लागि खाँसिवजार उतिवेलाको ठूलो बजार हो । खाँसि बजार पुग्नु अगाडि गुहिनेटोल आउँथ्यो त्यो अति फोहर थियो ।  यतावाट जांदा पहिलो पोखरीलाई नेवारहरु नेपाल भाषामा ‘ लाभा पुखू’ भन्थे । त्यो पोखरी कटेपछि नाउ जोगलालको घर अगाडि अर्को पोखरी आउंथ्यो त्यो बीचको पोखरीलाई नेवारहरु ‘भिं पुखू ’ भन्थे । पहिले भिं पुखूमा दूध पोखरी देखि कुलो बनाइ पानी ल्याएर यसमा हालिन्थ्यो । पहिले पहिले यही पोखरीको पानी पुरै कीर्तिपुरवासीले बोकेर खाने गर्दथे रे । प्रहरी चौकी अगाडिको पोखरीलाई भने मभिं पुखू भनिन्थ्योँ । यसैको छेउमा ०४६ सालका ऐतिहासिक जनआन्दोलनमा चैत्र २० गते सहिद भएका लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली, र राजेन्द्र महर्जन समेत ४ जनाको सालिक रहेको छ । यी सहिदका मुर्तिहरु तीनथानाकै वलराम( रामकृष्ण) भण्डारीले वनाएका हुन् । तीनथानाबाट सहिदको मूर्तिलाँदा तत्कालिन एमालेकी नेतृ बिध्यादेबी भण्डारीले एक कार्यक्रमबीच हस्तान्तरण गर्नु भएको थियो । कीर्तिपुरबाट आएको ठूलो जन समुहले बाजागाजा सहित सहिदहरुको सालिक लगेका थिए । यसरी वस्ती भन्दा तल कीर्तिपुरको दक्षिण तर्फ लस्करै तीनवटा पोखरी थिए । उत्तर तितका सबै पोखरी पानी पानीले भरिएका हुन्थ्ये । लुगा धुने तथा भांडा भाज्ने, खेती किसानी गर्नेहरु, खेतवाट फर्केपछि हातगोडा धुने विहान सवैरै उठेर हात मुख धुने लगायत दिसा धुने काम पनि यही पोखरीमा गरेको देखिन्थ्यो । लामो समय सुख्खा अवस्थामा रहेको पोखरी अहिले भने जनप्रतिनिधि आइसकेपछि पुनः यी पोखरीहरुलाई पुरानै स्वरुपमा फर्काउने गरी काम भै रहेको देखिन्छ ।
दोस्रो वाटो बीचको ढुँगा छापेको बाटो थियो । जुन वाटोको माथि दाहिने पटिृ एउटा शिला लेख भएको गाडिएको ढँंगा थियो । ठाडो ढुँगा भनेर हामी भन्थ्यौ । यो बाटो समल पुगिन्थ्यो । कीर्तिपुर भरीका मृतकको लास बाहिर यही समल ढोका भएर वल्खुखोलामा रहेको चिहानमा अन्तिम संस्कारका लागि ल्याइन्छ । लास ल्याउँदा उतिवेला प्राय सवैको काल वजारएरै ल्याउँथे। हामी सानो छँदा प्राय दैनिकै दुइ तीनवटा लास नल्याएको विरलै हुन्थ्यो । अचेल शिक्षा स्वास्थ्य चेतनाका कारण अकालमा मर्नेको संख्या पनि ज्यादै कम देखिन्छ । चिहान भने पहिले देखिनै जाति पिच्छेकै थिए । अहिले झन् धेरै देखिन्छ । कालवजाएर लास ल्याउने चलन पनि कम भएकै छ ।

कीर्तिपुर र तीनथानाकाे सीमानामा रहेकाे बल्खुखाेलाकाे पानीबाट थुप्रै घट्ट चल्थे । चिहान नजिकै तीनथानाका सुवेदार हर्कबहादुर राउतले खाेलामा ठुलाे बाँध बाँधी अलिपर कीर्तिपुरकाे नाकेभिरमा जाेरघट्ट चलाएका थिए । जहाँ म पनि  पिठाे पिँध्न गएकाे छु । अर्काे  जाेर घट्ट  सानाेवनकाे मुखैमा थियाे ।यहाँ पनि धेरै टाढा टाढाबाट पिठाे पिँध्न मानिस अाउँथे । त्यसैले हाम्राे तीनथानाकाे पूर्वतर्फकाे पाखाेलाइ  घट्ट भएकाे तर्फकाे पाखा घट्टेपाखा भनि नामै दिइएकाे थियाे ।

समल जानेबाटोबाट गठेमँगलका दिन नर्कट, छ्वालीबाट बनाइएको गठामँग ( घण्टाकर्ण) लाई तीनथाना र कीर्तिपुरको सीमानामा रहेको बल्खुखोलामा सेलाउने ल्याउन चलन धेरै पहिलादेखिको हो । यही ढुंगेबाटोबाट घिसार्दै यता ल्याउन लागेका मानिसलाई तीनथानापटृीबाट भने ढुंगामुढा गरेर बल्खुखोलामा खसाल्न वा सेलाउन दिँइदैनथ्यो । हरेक वर्ष गठेमंगलका दिन दुवै तर्फवाट ढुंगा हान्ने, घुँयत्रो, गुलेली चलाउने गर्दथे । यता उता दुवै तर्फका धेरै मानिस घाइते हुन्थ्ये । हामी केटाकेटी त्यतिवेला गढेमँगल आउनु भन्दा अघि देखिनै ढुँगा , इँटाका टुक्राका थुप्रो लगाउँथ्यौ । राति अवेलासम्म पनि गठेमँगललाई बल्खुखोलामा सेलाउन दिंदैनथ्यौ । पछि एकदुई पटक ठुलै युद्ध मान्छे मर्नेसम्मका घटना घटे पछि भने धेरै वर्ष अघि देखि ढुँगाहान्ने चलन रोकियो । अचेल कीर्तिपुरबाट पनि बल्खुखोलामा गठेमँगल सेलाउने कार्य भएको देखिदैंन ।
तेस्रो माथिल्लो ठाडो बाटो पनि ढुंगा छापिएको बाटो थियो । जुन वाटोवाट देवढोका (देवताको ढोका ) जाने बाटो हो । त्यो ऐतिहासिक देवढोका अहिलेसम्म जस्ताको तस्तै छ । देवढोकासंगै रहेको ऐतिहासिक पाटीमा विहान विहान दाफा भजन भैरहन्छ । वाघभैरव जान पर्दा यही वाटो जानु पथ्र्यो । देवढोकाको अगाडि इन्द्रायणीको मन्दिर छ , जहां विहानै दर्शन गनेर्को भिड हुन्छ । कीर्तिपुर सहर वाहिर रहेको इन्द्रायणीको जात्रा हरेक वर्ष पौष सङक्रान्तिका दिन धुमधामसँग मनाइन्छ । यस दिनलाई कीर्तिपुरवासीहरुले सवभन्दा ठूलो पर्वका रुपमा लिन्छन् । कीर्तिपुर नगरपालिका हुनुभन्दा अघि कीर्तिपुरभित्र चिठुविहार, लायकु, बाघभैरव र बाहिरीगाउँ समेत ४ वटा गाविस थिए । मल्लकालिन पुराना शैलीका सरचना तथा  घरहरु भत्कदै ०४६ साल यता अाधुनिक घरहरु बन्दै गएकाछन् । कीर्तिपुरलाइ विश्वसम्पदामा राख्ने कुरालाइ यसले ठेस पुगाउला जस्ताे लाग्छ ।

इन्द्रायणी मन्दिर अगाडि एउटा पुरानो सानो पोखरी थियो । जुन अझै पनि छ । कीर्तिपुर नगरपालिका भए पछि कार्यालय यही पोखरी अगाडि रहेको छ । जहां हामी गोठाला जांदा सानो पोखरीमा निकै पौडि खेल्थ्यौ । पोखरीको डिलमै लाेंहकोटबाट आएको खानेपानीको एक धारा यहाँ खोलिएको थियो । जसवाट संधै पानी खसिरहने भएकोले अरु पोखरी भन्दा अलि सफा हुन्थ्यो । यहाँ अहिले पनि पोखरीको छेउमा सार्वजनिक रुपमा धारो रहेकै छ । यससँगै पाखामा रोपवे( रज्जुमार्ग) का अलि होचा दुइवटा खम्वाहरु थिए, अझै पनि छन् । खोलामा पौडिखेले पछि गोठाला आउँदा दोस्रो खेल यही रोपवेको खम्वामा चढेर भेट्टाइ खेल्थ्यौ । बुद्ध गुम्वाका रुपमा ढुँगाले गाह्रो लगाएको सानो घरमा गुम्वा थियो । टुंसिङद्धारेले चलाएका थिए । उनको साविक घर कीर्तिपुरनै हो । उनले पहिले द्धारे समेत भएर काम गरेका थिए । टुंसिङद्धारेका छोरा रत्न वहादुर मानन्धर पछि तीनथानाकै प्रधानपंच समेत भएका थिए । गुम्वा अगाडि अमलाको रुख भएकोले हामी अमला फल्ने समयमा अमला चोर्न जान्थ्यौ । टुसिङद्धारेले अमला चोर्नजांदा हामीलाई धेरै पटक लखटेका छन् । अहिले त्यहाँ ठूलो बौद्ध गुम्वा बनेको छ । सफा र सुन्दर बगैँचा छ , हेर्न जाने मानिस थुप्रै हुन्छन् । उतिवेला गुम्वाभित्र हामीलाई भित्रन प्रेरित गर्ने त्यो अमलाको रुख भने सुकेको भए पनि अझै छ ।
यता वाट बिश्वविद्यालय जाने वा बागमती खोलामा भएको लच्कनेपुल तरेर लगन खेलमा रहेको सदर चिडियाखाना जान सकिन्थ्यो । यही वाटो गए पछि पनि एउटा पोखरी कीर्तिपुरको उत्तर पटिृको भागमा दुइवटा पोखरी दक्षिण तर्फको भन्दा साना थिए । दुवै पोखरीको बीचमा एउटा पुरानो पाटी थियो अहिले मर्मत पछि सुन्दर पाटी भएको छ । पाटी अगाडिको सार्वजनिक पोखरीमा भने अहिले विष्णुदेवी अस्पतालको भवन र कम्पाउण्ड वालले घेरिएको छ । अलिपर विजुलीपाटी थियो । जहाँ कीर्तिपुरमा विजुली लान मेसिन राखिएको थियो । यहीवाट उक्लेर वाघभैरवको मन्दीर जान मिल्थ्यो । अहिले यो बाटोमा ढुँगाको राम्रो ११६ वटा खुड्किला रहेको सिँढी बनेको छ । बाघ भैरवको मन्दीर पछाडि उत्तर तर्फ बाघभैरव सार्वजनिक स्कुल थियो । यही स्कुलमा हामी केटाकेटीछंदा ‘रामतेरी गंगामैली’ भन्ने सिनेमाको केही सो चलेको थियो । स्कुल अहिले यहाँबाट हटेर पाखामा बनेको छ । गाइवाख्रा गोठाला लाग्दा आफु खेल्नमै रमाउँदा बीउ बाली खाएर हाम्रो गाइवस्तु धेरै पटक कीर्तिपुरका कान्जी हाउसमा थुनेका छन् । एक पटक चराउन लगेका मेरा चार पाँचवटा खसी वाख्रा हराएको चार पाँच दिनपछि कीर्तिपुसरबाट आमाले फिर्ता ल्याउनु भएको थियो ।
ऐतिहासिक सहर कीर्तिपुर नामाकरण कसरी भयो भन्ने ’boutमा कीर्तिपुरबासीका रोचक भनाइ छ ‘ प्राचिनकालमा यसको नाम पद्यमकाष्ठपुर थियो । एकदिन किसानकोमा भिक्षा माग्दै जोगी आएछन् । मुलाको बीउ केलाइरहेका किसानले यहाँ के छ र दिनु भन्दै एक मुठी मुलाको बीउ दिएछन् । जोगीले यो के हो भनेर सोधेछन् । किसानले केपु भनेछन् । नेवारी भाषामा केपु भनेको मुलाको बीउ हो । मलाई केपु दियौ अवउप्रान्त यस देशको नाम पनि केपु नै रहोस भन्दै जोगी हिंडेछन् । त्यसपछि नै पद्यमकाष्ठपुरबाट कीर्तिपुर रहेको भन्ने एउटा भनाइ छ भने अर्को भनाइमा पशुपतिको श्लेषमान्तक वनमा गै केपुको गाइले दूध चढाउन थालेपछि केपुको नाम जताततै चल्न थाल्यो । केपुको गाइआइ कीर्तिराख्ने काम भएकोले सवैले कीर्तिपुर भन्न थाले भन्ने जनश्रुति पनि छ ।
पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने सिलसिलामा मेरो गाउँ तीनथानाको नाम पनि जोडिएको छ । हाम्रो पुस्ता उतिवेला एकिकरणमा भागलिंदै कीर्तिपुरको लडाइमा सहभागीहुन आउँदा यतै बसेका हुन् भन्ने पुर्खाको भनाइ छ । हाम्रो पुर्खाले उतिवेलै देखि आफनो देवाली पुजा कीर्तिपुरकै वनमा आजसम्म गर्दै आएको छ । तीनथानाको उचाभागमा कीर्तिपुरसँग लड्दा बनाइएको ऐतिहासिक गढी अझै छ । दहचोक कव्जामा लिएपछि त्यतैबाट पृथ्वीनारायण शाहले पहिलो पटक बि.सं. १८१४ जेठ १९ गतेका दिन कीर्तिपुर आक्रमण गरेका थिए । आक्रमण गर्न दहचोक ( इन्द्रदह ) बाट ओर्लेर नैकाप, तीनथाना हुंदै कीर्तिपुर ट्याङलाटारको उकालो चढ्न लाग्दा कीर्तिपुर राज्यका प्रधान सेनापति काजी धनवन्तको नेतृत्वमा सेनाहरु र त्यहाँका जनताहरु कुटो कोदालो, र डल्याँठा समेत बोकी डाँडाबाट ओर्लेर टयाङलाफाँटमा दुवै पक्षको जम्काभेटमा ठूलो युद्ध भयो । सेनापति कालु पाँडेको मृत्यु भयो । पहिलो युद्धमा बीर कीर्तिपुरे जनताले पृथ्वीनारायण शाहका सेनालाई भगाएका थिए । कीर्तिपुरका बासुपासाले आफनो पुस्तक ‘कीर्तिपुर ’ मा मा पनि यस्तै उल्लेख गरेका छन् । कालु पाँडेको टाउको लिन सफल भएका सेनाले कालुपाँडेको इच्छा अनुसार दहचोकको इन्द्रदह नजिक गोरखाराज्यतिर फर्काएर उनको टाउको समाधिस्थ गएिको छ । कीर्तिपुरसँगको युद्धमा सूरप्रताप शाहको आँखा फुट्यो, दलजीत शाह मरे । बीर कीर्तिपुरवासीसँग तेस्रो पटक लड्दा बल्ल १८२२ चैत्र ३ गते कीर्तिपुर विजय गरेको इतिहास छ । कीर्तिपुरको विजय पश्चात बि सं १८२५ असोज १३ गते काठमाण्डौ जित्न सफल भए । विस १८०१ असोज १५ गते नुवाकोटबाट राज्यविस्तार वा एकिकरणको अभियान थालेका उनले निरन्तर पटक पटकको संघर्ष र परिश्रमपछि नै नुवाकोटबाट साँढे सात कोषको फासलामा रहेको काठमाण्डौ जित्न उनलाई २५ बर्ष लाग्यो ।
कीर्तिपुरलाई ऐतिहासिक रुपमै राख्न कीर्तिपुर वासी लाग्नु पर्छ । कला संस्कृतिलाई बचाउन युवा पुस्तामा सार्नु पर्छ । अचेल दाफा भजन गाइरहने समुहमा युवापुस्ता देखिदैंनन् । गुँलापर्वको यात्रामा भने केही देखिन्छन् । हरेक भाद्र १ गते नागपञ्चमीको भोलीपल्ट बाघभैरवको जात्रा लाग्छ । बाघभैरवलाई कीर्तिपुरको रक्षक ठानिन्छ । विहान बाघभैरवमा पूजा गर्ने वत्ति बाल्नेको ठूलो भिड लाग्छ । बाघभैरवको जात्रा भने बेलुका ५ वजेतिरबाट शुरु हुन्छ । बाघभैरव अगाडि रहेको ‘देय पुखू ’देशको पोखरीलाई चारैतिर पक्कि पर्खाल लाएर पहिलेको भन्दा राम्रो बनाइ पोखरीमा पानी जमाइएको छ । देय् पोखरीको ठीक पश्चिमपटृी उतिवेला निकै चलेको परोपकार अस्पताल थियो । त्यहाँ तीनथानावासीहरु पनि निकै जान्थे । म पनि घाउ खटिरा आएर धेरै पटक गएको छु । अहिले यो भवन पुरानै शैलीमा वन्दै गरेको देखिन्छ । विहान देवढोकावाट बाघभैरवजाँदा वा कीर्तिपुर बिहान घुम्दा आफना घर अगाडि गोलो आकारमा वनाइएको सूर्यलाई लिपपोत गरी पुजाआजा गरेर बत्ति बालेको दृश्य र थाली बोकेर बाघभैरव र इन्द्रायणी मन्दिर जाने महिलाको लस्कर पनि देख्न पाइन्छ । अचेल कीर्तिपुरको नेवार वस्तीमा घुम्दा हाकु पटासी लगाउने महिला भने भेटिन्नन् ।
गुँला पर्वका अवसरमा टोलटोलबाट विहान बाजागाजा सहित भैंसीको सिङ पनि बजाउंदै केटाकेटी लगायत सवै उमेरका भेला भएर बाघभैरव इन्द्रायणी मन्दिर घुमेको देखिन्छ । आजभन्दा चारसय वर्ष अघिनै कवि राजा सिद्धिनरसिंह मल्लले नेपाल भाषामा ३२ वटा रागमा दाफा लेखेको भनिन्छ । खिं, टां ( फलामको सानो झ्याली ) र पोङगा बजाएर ठाउं ठाउंमा भजन हुन्छ अझ गुँलापर्व लागेपछि त सबै पाटीमा बृद्धबृद्धाहरु दाफा भजनमा मस्त देखिन्छन् । मन्दिरहरुमा वज्ने घँटको आवाजले मानिसलाई मन्त्रमुग्ध पार्छ । ठाउँ ठाउँमा रहेका चैत्यहरुमा पुजाआजा गर्ने महिलाहरुको लस्कर देखिन्छ । गठु नाच त हामीले केटाकेटी देखिनै हेरेका हौँ । हरेक १२ वर्षमा मुकुन्डो पोल्ने भनेर वल्खुखोलामा रहेको चिहान आसपास रातको समयमा यो काम गरिन्थ्यो । यो मुकुन्डो पोलेको हेरेमा रोग व्याधी हट्छ भनेर आमाहरुले उतिवेला आ आफना स साना नानीहरुलाई देखाउने चलन पनि थियो । कृष्ण अष्टमी जात्रा ,इन्द्रायणी जात्रा, लाखे नाच र आदीनाथमा माघ महिनामा वस्ने निराहार ब्रत आदि कीर्तिपुरका आफनै साँस्कृतिक सम्पदा हुन् ।
गाइजात्राका दिन पाटनमा मतयाको रुपमा, काठमाडौंमा साया ( सापारु ) का रुपमा , भक्तपुरमा विभिन्न वाजागाजा र नाच सहित घिंताङ घिसिङ गर्दै गाइजात्रा मनाइन्छ । गाइजात्राका दिन कीर्तिपुरमा भने ‘धें धें पापा’ नाच निकालिन्छ । इतिहासविद् तीर्थ महर्जनका भनाइ अनुसार यो नाच कीर्तिपुर र पाँगामा वाहेक अन्यत्र छैन । यहाँ निकालिने गाइजात्राको पनि विशेष महत्व छ । अन्यत्र जस्तो आ आफना हिसावले गाइजात्रा निकालेर नहिंडि सवै भेला भएर एकसाथ देश घुमाइन्छ । कीर्तिपुरभित्रका १४ टोलले पालैपालो गाइजात्रा निकाल्छन् । जुनटोलबाट गाइजात्रा निकाल्ने हो त्यही टोलको गणेशस्थानमा गाइजात्रामा निस्कने देवीदेवताहरुको मुकुट पुजा सङकल्प गरिन्छ । यसपाल मानोट्वा ल्वहदेंगः टोलको पालो थियो । गाइजात्राको नाच पनि तिनै टोलको तोकिएका स्थानमा भेलाभै देखाइन्छ । गाइजात्राको दिन मृतकहरुको नाममा गाइ जोगी बनी घुमाउने गरिन्छ । मृतक महिलाको छोरा वा लोग्नेले महिलाकै भेष भुषामा सजिएर जात्रामा सरिक भएको देखिन्छ । केही वर्ष अघिदेखि कीर्तिपुरमा निस्कने जात्रामा पश्चिमा शैलीका मुकुण्डोहरु लगाएर विभिन्न भेष भुषामा युवाहरुले भागलिएको देखिन्छ । गाइजात्राकै दिन बेलुका तिर बाघभैरव अगाडिको ‘देव पुखू’ मा मकै, रांगाका खुटृा फालिन्छ । मानिसहरु पौडि खेलेर त्यसलाई छोप्छन् । कीर्तिपुर ऐतिहासिक, सांस्कृतिक जात्रापर्व जस्ता परम्पराले पनि सम्पन्न छ । कलात्मक मठ मन्दिरले पनि कीर्तिपुर धनी छ । यहांको बाघ भैरव, उमामहेश्वर, चिलन्चो विहार, आदि ऐतिहासिक सहर कीर्तिपुरमा बिहार चैत्य ल्हो देग,मजा देग, चुन दे, चिठु विहार, इन्द्रायणी, नगर मण्डप, कीर्तिविहार, र पुराना पोखरीहरु हेर्दै अहिले पनि कीर्तिपुर घुम्दा पुरानो ऐतिहासिक सहरको झझल्को अझै दिन्छ ।
जय ब्लग ।

२०७४।७

प्रबिधिको फड्को मराइ

अप्रील 8, 2015

अहिले प्रबिधिको फड्को मराइले बिश्वका कुनै पनि कुनामा रहेका आफन्तसंग सम्पर्कमा आउन हामीलाई दुई सेकेन्डभन्दा वढी समय नलाग्न सक्छ । विकसित डिजिटल प्रविधिबाट कुरा मात्र होइन, आमने सामने भएर वा मुख हेराहेर गरेर कुरा गर्न सकिन्छ । लामै भलाकुसारी र कुनै विषयका ’boutमा तर्कपूर्ण छलफल चलाउन भाइबरबाट निःशुल्क सेवा प्राप्त छ । अहिले संसार हत्केलामा अटाउने भइसक्यो । शर्त हो, प्रविधिसंग रमाउन सिक्नु र सक्नु । संसारका ’bout कुनै पनि कुरा जान्न बुझ्न, हेर्न थाहापाउन गुगल मार्फत खोज गर्न सक्नु हुन्छ । तपाईलाई कुनै पनि खाने कुरा बनाएर खान मन लाग्दा कसरी बनाउने, के के चाहिन्छ सबै कुरा थाहा पाउन सक्नु हुन्छ । घर सजावटका लागि सल्लाह सुझाव लिन सक्नु हुन्छ । कुनै पनि रोग कसरी लाग्छ, त्यो रोगका लक्षण के हुन् र उपचार प्रविधि के के हुन् तुरुन्त थाहा पाउन सकिन्छ , संसारका धेरै कृतिहरु र तिनका रचनाकारका ’boutमा जान्न, बुझ्न र पढ्न सकिन्छ । केवल तपाईसंग डिजिटल प्रविधि र इन्टरनेट हुनु आवश्यक छ । तपाई गर्भावस्था हुनुहुन्छ भने गर्भ रहेदेखि बच्चा जन्मने दिनसम्मको यावत कुरा थाहा पाउन सक्नु हुन्छ । गुगल भन्ने यस्तो जिनिस आइदिएको छ ,जसले तपाइंलाई जान्न चाहेको कुनै पनि कुरा क्षणभरमै जानकारी गराइहाल्छ ।
अहिले धेरै विद्धानहरुले भन्ने गरेका छन्, सोसल मिडिया ( सामाजिक संजाल ) पनि लोकतन्त्र जस्तै हो । प्रजातन्त्रमा जस्तो लोकतन्त्रमा बोल्न मात्र पाइने हैन बोलेको कुरा सम्वन्धित निकायले सुन्न पनि पर्छ । बोलेका कुरा नसुनिने हो भने त्यो लोकतन्त्र हुन सक्दैन । सामाजिक सन्जालले पनि सामाजिक, राजनीतिकदेखि जनचासोका बिषयमा अभिव्यक्त गर्ने स्वतन्त्रता दिएको छ । सामाजिक सन्जालमा आएका कुराहरुमाथि निर्धक्क भएर आफना विचार सुझाव, आलोचना दिन कसैले रोक्न सक्दैन । अहिलेको डिजिटल प्रविधि मार्फत हामी आफना विचार चेतनाबाट आम मानिसलाई घच्घच्याउन सक्छौं । त्यसैले अहिलेको सामाजिक सन्जाललाई हामीले पाएको लोकतन्त्र नै मान्नु पर्छ । त्यसैले यसको फड्को मराइ पनि बहुदलीय प्रजातन्त्र, लोकतन्त्रसंगै केही फड्को मारेको पाइन्छ ।
नेपालका दुर्गम बिकट गाउंका बस्तीमा ताररहित इन्टरनेट सन्जालको बिस्तार गरी साक्षर पार्ने, सूचना प्रविधिको विकासका लागि लागिपरेका माहावीर पुनलाई इन्टरनेट सोसाइटीले २०१४ को जोनाथन बी पोस्टल अवार्ड दियो । उनले यसभन्दा अघि पनि एसियाको नोबेल पुरस्कारका रुपमा चिनिने रोमन म्यागासेस पुरस्कार प्राप्त गरेका थिए । अहिले उनले नेपालका १५ जिल्लाका १७५ गाउंमा ताररहित इन्टरनेट सन्जालमा जोडिरहेका छन् । राज्यको दायित्वभित्र पर्ने कुरा उनको अगुवाइमा अगाडि बढिरहेको छ, अब राज्यले उनलाई थप उत्साहित पार्नुपर्छ ।
तपाइं डिजिटल प्रविधिमा अभ्यस्त हुनुहुन्छ भने तपाइं आफना लेख छपाउन कुनै सम्पादकका छेउ पुगेर आफना दांत देखाउनु पर्दैन । घरमै बसेर मेलबाट पत्रपत्रिकामा लेख रचना पठाउन सक्नु हुन्छ । समसामयिक र प्रकाशनयोग्य कुरा पत्रिकाहरुले नछाप्ने कुरै हुंदैन । छापिदिएनन् भने डिजिटल प्रविधि मार्फत सामाजिक सन्जालका पाठकबिच राख्न र आफने विचार पोख्न तपाइंलाई कसैले रोक्दैन । डिजिटल प्रविधिले पुस्तक प्रकाशन गर्ने काममा एउटा क्रान्ती नै ल्याएको छ । घरमै बसेर पुस्तकको रुप तयार पारेर पीडीएफ फाइलमा पठाउने बितिक्कै छापाखानाले पुस्तक छाप्न सुरु गरी हाल्छ ।
परिवर्तनको राजनीति गर्ने नेताहरुका लागि पनि अब डिजिटल प्रविधिबाट टाढा रहनु हुंदैन, अहिलेका धेरै युवा पुस्तालाई यससम्वन्धी राम्रो ज्ञान छ, किनकि उनीहरु त्यही वातावरणमा हुर्किरहेका छन् । अवसर पाएका आजका बालबालिका सन्चार र प्रविधिका कारण धेरै तीक्ष्ण बनिसकेका छन् । ज्ञानज्ञुनका कुरा थाहा पाउन यो प्रविधि उपयोगी माध्यम बन्न सकेको छ । अपवादका केही घटनाबाहेक ।
अघिल्ला पुस्ताले पनि अहिलेसम्म चलाइएन भनेर हीनताबोध संगाल्नु आवश्यक छैन । यसले विश्वसंग तपाइंलाई नजिक्याउंछ । मिनेट सेकेन्ड या किताबका पाना पल्टाउने समयमै तपाइंले धेरै कुारा’bout जानकारी पाउन सक्नु हुन्छ । बिश्व परिस्थिति बुझ्न सजिलो पर्छ । आफ्ना विचार सेयर गर्न सक्नु हुन्छ । ६४ वर्षीय भारका प्रधानमन्त्री नरेन्द्र मोदी फेसबुक, ट्विटरलगायत सामाजिक सूचना प्रविधिमा अभ्यस्त छन् । नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि यस क्षेत्रमा अगाडि नै देखिन्छन् । साहित्यकार प्रदीप नेपालले यस्तो प्रविधि धेरै पहिलादेखि चलाउंदै आएका छन् । त्यसैले उनीहरुका कुरा अरुले र उनीहरुप्रतिको मानिसको धारण तुरुन्त थाहा पाउन र दिन सक्छन् । विचारको माध्यमबाट जोडिन चाहनेहरु अहिले सामाजिक सन्जालमा एकअर्कालाई आफ्नो कुरा सुनाउन र सुन्न लागिपरेका छन् ।
केटाकेटीलाई डिजिटल प्रविधिसंग नजिक्याउनु आमाबाबु र संरक्षकहरुको कर्तव्य हो । तपाइं आफना बालबालिकालाई डिजिटल प्रविधिसंग टाढा राख्नु हुन्छ भने तिनले भोलिका दिनमा प्रतिस्पर्धामा उत्रन पछि पर्न सक्छन् । आफना सन्ततिको भविष्य उज्ज्वल मात्र होइन अन्यसंग प्रतिस्पर्धा गर्न सक्ने बनाउन, सक्षम सबल बनाउन पनि अहिलेको बिश्वव्यापी यो प्रविधिबाट टाढाा राख्नु हुंदैन । आजको डिजिटल प्रविधिबाट टाढा रहेका हिजोका पुस्ता बिच ठूलो खाडल रहेजस्तै आजका बालबालिका डिजिटल प्रविधिमा अभ्यस्त हुन नसके धेरै पछि पर्ने निश्चित छ ।
अहिले नेपालले पनि हरक्षेत्रमा यस्तो प्रविधिको प्रयोग गर्दै छ, । अब अझ अग्रसर हुनु पर्छ । सम्झनुस् त हिजोको एसएलसीको रिजल्ट हेर्न लाठी खानुपथ्र्यो । आज प्रविधिको फड्को मराइले घरमै बसेर मोवाइल र फोनबाट छिनमा थाहा पाउन सक्छौं । सूचना प्रविधिका लागि विभिन्न निकायका वेबसाइटमार्फत तिनका गतिविधि थाहा पाउन छिनमै सक्छौ । विश्वले यस्ता प्रविधिबाट हाम्रा’bout बुझन सक्छन् । संसारको एउटा कुनाको मानिस अर्को कुनाकोसंग जोडिन सजिलो पार्छ । यसले समयको बचत, छिटो छरितो,पारदर्शिता र भरपर्दो काम गर्न मद्दत मिल्छ । सारातिर मानिसै दोडेर देख्न भेट्न नसकिने हुंदा सिसिटिभी जस्ता उपकरण बैड०क्, अड्डा अदालत, सरकारी कार्यालयमा मात्र होइन, सडक र सम्भाव्य खतरा बढ्न सक्ने वा घटना हुन सक्ने स्थानहरुमा यस्तो यन्त्र जड्दा स्वचालित रुपमा यसले काम गरिरहन्छ । अपाराधी मनस्थिति भएका मानिस कहां काहां घुमफिर गरिरहो छन् भन्ने कुराको जानकारी लिन र अपराधी छेउ पुग्न सम्वन्धित निकायलाई धेरै सजिलो पुग्छ । अनलाइन सेवाबाट सेवाग्राहीले घरमै बसेर धेरै किसिमका सेवा लिन सक्छन् । धारा पानी, टेलिफोन बिजुली, मालपोत राजस्व कर तिर्न टेन्डर भर्न, रकम बुझाउने आदि कामका लागि अड्डा अड्डा धाउनु पर्दैन । घरमै बसेर सबै कुरा थाहा पाउन र तिर्न सकिन्छ । स्थानीय निकाय, सरकारी कार्यालय आदिमा चाहिने फोटो, फोटोकपीलगायतका सामग्री चाहिंदा सेवाग्राही, अझ ज्येष्ठ नागरिकले पाएको दुःख देख्दा यस्ता प्रविधिलाई प्रयोग गर्ने हो भने अब कुनै पनि सेवाग्राहीले दुःख पाउनु पर्दैन । सामान्य रकम स्थानीय निकाय वा सरकारी कार्यालयले खर्च गरेर निःशुल्क यस्ता सुविधा दिन सकिन्छ । बैंड०्कबाट बिद्युतिय कार्ड लिंदा पचासौ हजारसम्म लिन हातमा चेक लिएर बैंकमा लाइन बसिरहन पर्दैन । बजार हिंड्दा पैसाको अब बिटो बोकेर डरको मारे भएर हिंड्न पर्दैन । पसलमा किन्न जांदा सामान किनेर कार्ड घोटेर केही पैसा चाहिए लिन पनि सकिने व्प्यवस्था मिलाउन सकिन्छ । त्यसका लागि तपाइले बैंकमा बचत गर्ने बानी बसाल्दै जानु पर्छ । अहिले बैंड०्किंड० क्षेत्रमा डिजिटल प्रबिधिले फड्को मारेझैं अन्य क्षेत्र कृषि, स्वास्थ्य भौतिक निर्माण, शिक्षा, यातायात आदि क्षेत्रमा पनि यसलाई लागु गर्न सके धेरै कुरा बिना झन्झटिलो तरिकाबाट थोरै समयमा लाभ लिन सकिन्छ । बिकसित देशहरुले यस्ता कुरालाई सामान्य बनाइसकेका छन् । हाम्रा दुवै उदयमान छिमेकी देश भारत र चीन आर्थिक क्षेत्रमा मात्र होइन, सूचना प्रविधिको क्षेत्रमा पनि बिश्वलाई हांक दिने अवस्थामा पगिसके । हामीकहां पनि यस्ता फड्को मराइ र हाम्रो आनीबानी सुध्ंदै जाने , सबै सरकारी कार्यालयमा इन्टरनेटमार्फत सेवा पाउने गरी हरेक कुरा प्रबिधिमा ढाल्दै जाने हो भन देशले कांचुली फेर्न र दिनौं खाडी राष्ट्र्मा ओइरिने युवाशक्तिलाई रोक्न बल नपुग्ला र ?
कहां के भयो भनेर अब समाचार सुन्न एक घण्टा पर्खनुपर्ने आवस्था छैन । मोबाइल र इन्टरनेटको सुविधाले हामी छिन छिनमा खबरबाट अपडेट हुन सक्छौं । मोबाइल सेवा सुरु भएको आज डेढ दशक यता यसले ठूलो फड्को मारेको छ । राज्य राज्य , व्यक्ति व्यक्ति बिश्वको एउटा कुना र अर्को कुनाबीच तत्काल संवाद हुन थालेको छ । सांच्चै बिश्व आश्चर्यजनक ढंगले जोडिदै अगाडि बढेको छ । सन् २००७ तिर आज भन्दा आठ बर्ष अगाडी स्मार्ट फोन सार्बजनिक गर्दा अब यसले सबथोक परिवबर्त गर्ने छ भनेका थिए । नभन्दै आज स्मार्ट फोन एक्काइसौं शताव्दीको प्रविधिको अर्को फड्कोमराइ भएको छ । मानिसका दैनिक गतिबिधिमा यसको ठूलो सहयोग छ । त्यसैले हात हातमा मोवाइल पुगेको देखिन्छ । यससंगै नेपालले अब डिजिटल प्रविधि मार्फत इन्टरनेट सेवा सुविधा सबै क्षेत्रमा देखिने गरी लागु गर्दै अहिलेका स्कुले बिद्यार्थीहरुलाई समेत यससम्वन्धी चेतना फैलाउंदै यसलाई सर्बसुलभ पार्नु भोलिको नेपालको भबिष्य उज्ज्वल पार्नु हो ।
(आजलाई २०७१ कार्तिकको अंकमा युवामंचमा प्रकाशित मेरो लेखलाई ब्लगका मित्रसंग भेटघाट गर्ने जमर्कोका साथ टांसो गर्दै बिदा लिन्छु ।) जयब्लग ।

युवाको रोजाइ विदेश किन

मार्च 20, 2015

अचेल पढेलेखेका युवाको चासो युरोप,अमेरिका तथा अस्ट्रेलिया भएको छ भने थोरै पढेका वा नपढेकाहरुको गन्तव्य भने खाडी मुलुका र मलेसिया हुने गरेको छ । हिजो लाहुरे बनेर भारतमा दरवान र कुल्ली काम गरेर नेपाल फर्कन्थे । लाहुरेको सुगन्धित तेल राखेर बनाएको जुल्फी कपाल र एकजोर सफा लुगा लगाएर गाउं पसेको देख्दा, उसका चकाचकका कुरा सुनेर हिजो धेरै लाहुरे बन्थे । अहिले विदेश गएर आएकाको तामाझाम र कुरा सुन्नुपर्ने अवस्था छैन । हिजो जस्तो चिठ्ठी पठाएर महिनौ कुरेर खवर सुन्नु र सुनाउनुपर्ने अवस्था छैन । अहिले प्रविधिको फड्को मराइले संसार सांघुरिएको छ । इन्टरनेटका माध्यमबाट स्काइप र फेसबुक जस्ता सामाजिक सन्जालले युवा जमातलाई विकसित देशले तानिरहेको छ । आफू संगैको साथीको उता चकाचक, उसले प्रयोग गरेका अत्याधुनिक डिजिटल डिभाइसहरुले यताको युवाको मन तुलबुल तुलबुल पारिरहेको छ । बिदेशमा छोराछोरी वा अन्य परिवार रहेकाको नेपालमा रवाफसंगै आर्थिक अवस्थामा केही भए पनि पुर्याएको सहयोगले सबैलाई आफना छोरा छोरीलाई भरिसक्य विदेशै पठाउने मोह बढ्दो छ । छोराछोरी यहां रहंदा वरालिन सक्ने, विदेश पठाइदिन पाए बिगं्रदैनन् भन्ने यी र यस्तै कारणले होला अहिले नेपालबाहिर कामका लागि पुगेकाको संख्या ७५ लाखभन्दा वढी नै रहेको तथ्याड०कले देखाउंछ । यसो हुनुमा नेपालमा विकासका प्रयाप्त सम्भावना भएर पनि नेताहरुका अक्षमताले हुन नसक्नु र नागरिकको आर्थिक स्थिति माथि उठ्न नसक्नु यसका कारण हुन् । अहिले एउटा आशालाग्दो पक्ष के देखिएको छ भने मुख्य ठूला पार्टीहरु र त्यसका नेताहरुले अबको बाटो अर्को राजनीतिक क्रान्ति हैन प्राप्त लोकतन्त्रलाई संस्थागत गर्दै आर्थिक क्रान्ति गरेर नागरिकको जीवनस्तर माथि उकास्ने काममा लाग्नु पर्छ भन्ने चेत आएको छ ।
नेपालीका लागि केही वर्ष अघिसम्म अमेरिका, अस्ट्र्ेलिया वा अन्य देशमा पढ्न जाने कुरो कुलीन वर्गका लागि मात्र सम्भव थियो । तिनै वर्गका, अभिभावकहरुले मात्र अफना सन्तानलाई विदेश पठाउने, पढाउने सपना बोकेका हुन्थे । आज सन्चार जगत् र सूचनाको फड्को मराइका कारण सामान्य मध्यम परिवारका लागि पनि ढोका खुलेको छ । युरोप, अमेरिकालगायत अन्य विश्वका देशहरुमा नेपालीले खर्च तिरेर पढाउने वर्ग त हातका औंलामा गन्नसक्ने मात्र होलान् । अहिले युरोप, अमेरिका पढ्न जो जान्छन् ती पढ्न मात्र जाने हैनन्, तिनले काम गरेर आफैले कमाएर पढ्ने गर्दछन् तर नेपालमा छंदा तिनै युवा कलेज जाने भएपछि अपवादका रुपमा धेरै चाहिं यहां काम गर्न मन पराउंदैनन् । नेपालमा पढाइपछि पास भएको प्रमाणपत्र लिएर के गर्ने भन्ने अन्योल छ । उद्योगधन्दा छैनन्, व्यवसाय गर्न सबैसंग पुंजी नहुन सक्छ । हामीले लिएको प्रमाणत्रले आफना खुट्टामा उभिन सिकाउंदैंन । विकसित देशमा दुइवटै अवसर भएका कारण पनि मानिसहरु विदेश जान मरिहत्ते गर्ने रहेछन् । बिहान बेलुका वा रात्रीकालीन काम गरेर पनि पढाइलाई निरन्तरता दिनसक्ने वातावरण छ । पैसा हुनेले पढाइ मात्र गर्नसक्ने र कमाएर पढ्न पर्नेले काम र पढाइ मिलाएर गर्न पाउने व्यवस्था भएकाले पनि युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा आदि ठाउंमा जान लालयित हुन्छन् । अझ छोरा छोरी भेट्न जाने आमा बावु , वा अन्य परिवारका लागि पनि भाषा कक्षाहरु ठाउंठाउंमा खोलिदिएका छन् ।
जनशक्तिको खांचो भएका देशले १२ कक्षा सरहको अध्ययन गरी पढ्न आफना देशमा भित्रिएका युवालाई पढाइका साथै काम दिएर बस्ने वातावरण बनाइदिएका छन् । १२ कक्षा सरहको दक्ष व्यक्ति उत्पादन गर्न ती देशले ठूलो लगानी पनि गर्नु परेन । अमेरिकाले डिभी मार्फत स्थायी रुपमा बसोबास गर्ने ग्रिनकार्ड दिएर बर्सेनि ५० औं हजार जनशक्ति आफनो देशमा भित्र्याउंछ । अस्ट्र्ेलिया , क्यानडाले पी आर दिएर स्थायी रुपमा बसोबास गर्ने सुविधा दिन्छ । पढ्न जाने बिद्यार्थीहरुलाई पनि नियमित ट्याक्स तिर्ने र नियमानुसार रहनेलाई नागरिक भएर बांच्न पाउने सपना बांडेको हुन्छन् । पढ्न जानेहरु पनि लामो अवधि उतै बसेर स्थायी रुपले बस्न पाउने ग्रिनकार्ड वा पीआर लिन रुचाउंछन् । त्यस्तो अवस्था सिर्जना नहोउन्जेल लामै अवध पनि नेपाल नफर्की उतै विभिन्न तरिकाबाट बस्न रुचाउंछन् । केही नलागे सेनामा भर्ती भएर वा विदेशमा बस्ने आधिकारिक भिसा भएकासंग वैवाहिक सम्वन्ध गांसेर भए पनि प्रायः यता फर्कन चाहंदैनन् । अझ उता पढ्न जानेहरु नेपाल आएर विवाह गर्नुभन्दा उतै बसेकी नेपाली वा अन्यसंग विवाह सम्वन्ध गांस्न चाहनेको संख्या पनि वढ्दो छ । नेपालमा आएर विवाह गर्ने केटा वा केटीले संगै तुरुन्तै आफूसंग लान नसक्ने भएकाले उतै बसेकासंग सम्वन्ध गांस्न पाए छुटिृन नपर्ने र त्यहांको वातावरणमा रमाउन पाउने भएकाले पनि यस्तो रोजाइमा परेको होला ।
पढ्न गएका अधिकांश किन नेपाल फर्कन चाहंदैनन् ? उता स्वतन्त्र समाज, कसैले कसैको चियो चर्चो नगर्ने, नेपाली मिहिनेती, मिलनसार र इमान्दार भएकाले कामका लागि सबैले रुचाउने । भारतीय पाकिस्तानी र भियतनामीहरु समेतले नेपाली कामदारलाई बढी विश्वास गरेको पाइन्छ । कामको अवसर धेरै भएकाले काम पाइसकेपछि बांच्न सहज वातावरण हुने भएकाले पनि अपवादलाई छाडेर अधिकांश मानिस नेपाल फर्कन चाहंदैनन् । अमेरिकामा रहने विद्यार्थीलाई चिल्ला कार, आधुनिक बड०्गाला र डिजिटल सामानको सपनाले लोभ्याउंछ । हरेक कुराको एउटा सिस्टम बसिसकेकाले सिस्टमभित्र चलेपछि कामका लागि नातावाद ,कृपावाद, राजनीतिज्ञ कसैको शरण पर्नु नपर्ने भएकाले पनि होला मानिस उता रमाउने गरेको । जसले जे काम गरे पनि कामप्रतिको सम्मान र निश्चित तोकिएको ज्याला र त्यो ज्यालाले जीवन निर्वाह गर्नसक्ने आफना आवस्यकताका सामान परिपूर्ति गर्नसक्ने, सामान्य काम गर्नेले १० मिनेटको बाटोको काममा जान पनि कार चढेर जान राज्यले कार, घर किन्नेका लागि दिएको सहुलियत सुविधाको वातावरणले पनि विदेश पुगेकाहरु उतै रमाउने गरेको देखिन्छ । तं बाहिरको हामी स्थानीय भन्ने भाव कसैमा देखिदैंन । पसल व्यापारमा नेपाली देखेर ठग्ला, वढी भाउ गर्ला भन्ने छैन । रैथाने होस् वा धनाढ्य सबैका लागि एउटै मूल्य र व्यवहारले पनि मानिसलाई लोभ्याउंदो रहेछ । राज्यद्धारा नागरिकका लागि गरिनुपर्ने शिक्षा, स्वास्थ्य, पानी बिजुली आदि विनाभेदभाव धनी गरिब सबैका लागि समान हुने । सार्वजनिक यातायातले यात्रुप्रति गरेको आदर सम्मान, समयको पालनको साथै भरपर्दो भएकाले सबैको मन लोभ्याउंछ । पढ्नेका लागि जताततै पुस्तकालयको पर्याप्त व्यवस्था, विद्यालय, सरकारी गैरसरकारी कार्यालय,पसल, रेष्टुरां सबै एउटै सिस्टमले सन्चालन भएकाले पनि कसैले रड०ग वा लिड०ग वा बाहिर भित्रका भएबापत भेदभावपूर्ण व्यवहार व्यहोर्न नपर्ने भएकाले पनि मानिस आकर्षित भएका होलान् । एउटा राज्यबाट अर्को राज्यमा पुग्दा पनि ट्रफिक व्यवस्थापनलगायत बाटो हिंड्नेदेखि किनमेल गर्ने यावत कुरा एउटै पद्धतिमा चलेकाले जता पुग्दा पनि सहज वा अलमलिनु नपर्ने वातावरण देखिन्छ ।
नेपालमा रेमिट्यान्स त खाडी मुलुकमा गएकाहरुले भित्र्याउने हुन् । युरोप, अमेरिका गएकामध्ये थोरैले मात्र नेपालभित्र पैसा पठाउंछन् । खाडी मुलुकमा कमाउने र नेपालमा केही जोहो गर्ने उनीहरुको चाहना हुन्छ भने युरोप, अमेरिका पुग्नेकाको चाहिं उतै कसरी क्रेडिट बनाउने भन्नेतिर लाग्ने हुंदा कमाएको पैसा आवश्यक नभई नेपाल पठाउन चाहंदैनन् ।
अहिले यहां नै मासिक बीस तीस हजार कमाउनेहरु पनि आफना साथीभाइ कतार मलेसिया ,दुबई गएर फर्केको अनि उनीहरुले गरेको मोजमस्ती, मोवाइल ,क्यामरा, घडी आदिको प्रयोगले पनि नेपालमा त्यति पैसा कमाउने युवापुस्तालाई पनि खाडी रास्ट्र् वा मलेसिया भए पनि एकपटक पुगौं भन्ने लहडले धेरै उता पुगेका छन् । जे होस् ती विदेश गएर विभिन्न कामका अनुभव बटुलेर श्रमप्रति माया जगाएर आउंदा उनीहरुका लागि काम गर्न यहां सजिलो भएको छ ।
अब राज्यले अहिलेको डिजिटल प्रबिधिको भरपुर प्रयोग गर्ने र गराउने आम वातावरण नबनाउने हो भने हामी हिजोका दिनमा अन्य देशभन्दा धेरै पछि परेजस्तै अझ भोलिका दिनमा धेरै पछि पर्न सक्छौं । त्यसैले सबै क्ष्ोत्रमा डिजिटल प्रविधिको आम विकास हुनु नितान्त आवस्यक छ । आजका पुस्तालाई यो प्रविधिले युक्त बनाउनुपर्छ । अहिले युवालाई यहां रोजगारी दिन नसकिएकाले राज्यद्धारा उर्जाशिल जनशक्ति बाहिर पठाउने काम भइरहेको देखिन्छ । अव युवा श्रमशक्तिलाई देशमै स्थापित गर्न, प्रतिभा पलायन रोक्न देश आर्थिक समृद्धितर्फ उन्मुख हुनुपर्छ । सधैं अदक्ष कामदार मात्र दक्षिण कोरिया , मलेसिया, कतार र दुबई पठाएर हुंदैन । दक्ष जनशक्ति उत्पादन गरेर पठाउन सके मात्र नेपाल र नेपालीको भविष्य रहला । अब राजनीतिका लागि क्रान्ति हैन , आर्थिक क्रान्ति गरेर नेपाली जनजनको मुहार हंसिलो पार्नुपर्छ ।
युवामंच ,असार २०७१ को अंकमा प्रकाशित मेरो लेख यस पटक टांसो गरेर तपाइ सामु आएको छु । जय व्लग ।

बागमती र सफार्इ अभियान

अक्टोबर 31, 2014

बागमती र सफाइ अभियान
बागमती हाम्रो सभ्यता र संस्कृति हो । बागमती स्वच्छ,शुद्ध र सफा बनाउने सफाइ अभियान गएको श्रावण १० गते ६३ हप्तामा पुग्यो । हरेक शनिबार बिहान ७ बजे देखि ९ बजे सम्म २ घंटा हाम्रै असभ्य र अचेतनाले थुपारेको फोहर बटुलिन्छ । ६३ औं हप्तामा बिष्णुमती दोभान टेकु आसपास सरसफाई गर्ने कार्यक्रम रह्यो । सफाइ कार्यक्रम सहभागी हुन दूरसंचारबाट आएको तार रहित खबरले जाउं जाउं पारेको थियो । ६३ हप्ता भयो निमन्त्रणा गरेको यसपाला त आउनु हुन्छ कि ? भनेर लेखेको थियो । पढ्दा मलाई नै इंगित गरेको हो कि जस्तो लाग्यो । हुन त म गाउंमा बस्छु, तै पनि यो भन्दा पहिले पशुपति आसपास सरसफाइ हुंदा एकपटक त पुगेकै थिए । यसपाला टेकुको कार्यक्रममा एकजना साथी समेत लिएर बिहानै पुगे । यस कार्यक्रमलाई सफल पार्न नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल बडो उर्जाशिल भएर निरन्तर लागिरहेका छन् । केही भिजन केही गरौं भन्ने भावना भएका एकजना मानिस ओहदामा पुग्दा पनि केही त हुंदो रहेछ । उनकै अगुवाइका कारण पनि यहांसम्म धेरै संघ संस्था र बागमती प्रेमी मानिसको उपस्थितिमा कार्यक्रम चलिरहेको छ । बागमती हिजोको भन्दा केही सफा पनि भएको छ । बागमतीको पानी छुनै पनि असहज भै रहेको समयमा थुप्रै हप्ताको सफाइ अभियान पछि मुख्य सचिबकै नेतृत्वमा नुहाएर बागमती सफा भएको छ भन्ने शन्देस पनि दिएकै हुन् ।
६३ औ हप्ताको कार्यक्रममा पनि सेना, प्रहरी, बिभिन्न संघ संस्था लगायत सर्वसाधरणको राम्रै उपस्थिति थियो । कार्यक्रमा सहमागी हुनेहरुलाई वुट, हातमा लगाउने पंजा र मुख छोप्ने टालो पनि उपलव्ध थियो । संकलन भएका फोहर बोक्न महानगरपालिकाको गाडी, कसैलाई चोटपटक लागेमा उपचारको लागि एम्वुलेनसको पनि व्यवस्था गरिएको थियो । सदा झैं कार्यक्रम मुख्य सचिबको उपस्थिति र उद्घोषबाटै भएको थियो । मुख्य सचिवले सफाइका नारा भट्याउंदै हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने, बागमती सफा, हुन्छ हुन्छ । जय बागमती भन्दै सफाइ कार्यक्रममा उपस्थित सबैले नारा घन्काए र टोलीमा बिभाजित भएर फोहरका डुड०्गुरमा आफाना हात घुसारे । मुख्य सचिव लिलामणि पौडेल आफै फोहरमा डुबुल्कीमार्दै फोहर बटुल्दा अरुलाई उत्साह नहुने कुरै भएन ।
गन्हाउने दुर्गन्ध मात्र हैन जीबनकै खतरा मोलेर मानिसहरुले फोहर संकलन गरे । शुरुमा म आफै पनि तिलमिलाएको थिए । मास्कबाट छिरेको गन्धले चक्कर लागेजस्तो उकुस मुकुस भएको थियो । मुख्य सचिब भने फोहर चलाउंदा चलाउंदा बानीनै परे झैं ,कुनै परबाह नगरी ,अघि सर्दै फोहर बटुल्ने काममा निरन्तर लागे । त्यसदिन उपस्थित भएका नगरपालिकाको प्रमुखको भनाइ अनुसार २ घंटामा ५ हाजर मेट्रिक टन (पचास हाजर किलो )फोहर संकलन भएछ । फोहर भन्नाले मुख्यत प्लाष्टिक त्यस अलावा टुटे फुटेका सिशाका बोतल, सिरिन्ज ,प्लाष्टिका डोरी,,छाला टायर आदिनै थिए । समापनका बेलामा भनिए अनुसार अहिले सम्मको पशुपती सफाइ अभियानमा उठेको फोहर मध्ये यो नै बढी रहेको कुरा बताइयोे । खाली सिसि पुराना कागज भन्दैे हाम्रा दाजु भाइहरुले नगर र गाउंका घर घर नडुलेका भए अझ हाम्रो फोहरले सगरमाथा चुम्थ्योे होला । त्यसैले फोहर उत्पादानमा कम कसरी गर्ने ? सड्ने गल्ने फोहरबाट घर घरमै मलखाद बनाउन उत्प्रेरणा जगाउने । नसड्ने नगल्ने फोहरलाई ब्यवस्थित रुपमा व्यवस्थापना गराउन सिकाउने र त्यसको संकलन गर्ने । प्लास्टिकको बिकल्प सोच्ने वा त्यसलाई संकलन गरी पुन प्रयोगमा ल्याउने ।
कार्यक्रमको शुरुवात राष्ट्र्यिगानबाट भएको थियो । फोहर संकलन कार्यक्रमलाई अझ रोचक रमाइलो बनाउन शुरु देखिनै इन्द्रेणी संस्कृतिक परिबारले गीत गाएर , फोहर संकलन गर्न मानिसलाई हौस्याउंदै उत्साहित पारेका थिए । फोहर संकलन पछि कार्यक्रम पनि रोचक ढंगले विर्सजन गरिएको थियो । उपस्थित हुने संघ संस्थाहरुको नाम नामेसि पनि बाचन भएको थियो । अन्तमा अर्को हप्ताको कार्यक्रमको निमन्त्रण गरेर कार्यक्रम सकिएको थियो । यो कार्यक्रमको रोचक पक्ष अर्को पनि रहेछ । सरसफाइका लागि कसैसंग सुका पैसा पनि नउठाउने । उठाउन पनि नदिने । सक्छौ आफै आएर कार्यक्रममा सहभागी भै सफा गर , सक्दैनौ फोहर नगर । फोहर संकलन गर्दा प्रयोग हुने औजार आदि भने सहयोग लिइने रहेछ । अर्को दलको झण्डामा दलगत रुपले कोही सहभागी हुन नपाउने थिति पनि बसालिएको रहेछ ।
यसरी काठमाडौं उपत्यकाबाट दैनिक संकलन भएको सबै किसिमका फोहर कहां गएर डम्पीड० हुन्छ त ? केही वर्ष अघि सम्म गोर्कण डम्पीड० साइटमा थुपारिन्थ्यो । यो क्षेत्र भरिए पछि अहिले नुवाकोट र धादिड० जिल्लाको सिमानामा पर्ने सिसडोल क्षेत्रमा फोहर डम्पीड०ग गरिन्छ । त्यहां फोहर डम्पीड०ग गरे बापत त्यहांका जनतालाई नेपाल सरकार र नगरपालिकाले थुप्रै कुरा गर्ने भनि सहमती भएर फोहर राख्न दिइएको थियो । तर बेला बेलामा राज्यपक्षले सहमती कार्यान्वयन नगरेको र फोहर बैज्ञानिक बिधि र पद्धति अनुसार ब्यबस्थापन नभएको भनि गुनासो पोख्दै फोहर डम्पीड० गर्न नदिने भनि सहमति गर्ने पक्षधरलाई सजग बनाउन फोहर खसाल्न नदिएर चेतावनी पनि दिइन्छ ।
अहिले फोहर फ्यालिरहेको सिसडोल क्षेत्र भरिए पछि फोहर कहां फाल्ने । त्यतिबेला चारैतिर बस्ती घना भै सकेको हुन्छ । राज्यले अहिले देखिनै फोहरलाई मोहर बनाउने बिधि अवलम्वन नगरुन्जेल समस्या आइरहन सक्छ । कुहिने सड्ने फोहरलाई मलखाद बनाउने भनि कुरा चलेको धेरै भए पनि केही हुन सकेको छैन । यो राज्यले गर्ने पर्ने काम हो । यस बाहेक अरुलाई आर्थिक उपार्जन गर्ने कार्यमा लगाउने किसिमको दीर्घकालिन योजना बन्नु पर्छ ।
यसरी महिनाको चारवटा शनिबार केही सचेत मानिस जम्मा भएर सफा गर्दैमा बागमती सफा होला ? बागमती कसरी फोहर भएको छ र यसको रोकथाम र व्यवस्थापन कसरी गर्ने भन्ने कुरामै मिहिन ढंगले ध्यान नदिएसम्म बागमती र हाम्रा सहर सफा होलान् ? पहिलो त उपत्यकालाई टुक्रा टाक्री नपारी एउटै संरचना र योजनामा चलाउनु पर्छ । त्यसका लागि सिंगो उपत्यकालाई एउटै महानगरपालिका बनाएर चलाउंदा समस्यासंग जुध्न सजिलो हुन्छ । बागमती सफा पार्ने भनेको बागमती नदीमा बग्ने पानी मलमुत्रबाट प्रभावित नहोस् ,सबैको फोहर फाल्ने ठाउं नबनोस् र त्यसको आसपास सफा स्वच्छ होस् भन्ने नै हो । त्यसका लागि बागमतीको दुबै किनारमा रिटेनिंग वाल लगाउने, खास खास ठाउंबाट मात्र बागमतीमा गाडी वा मानिस प्रबेश गर्न खोल्न मिल्ने गरी गेट राखि रिटेनिंग वालमाथि फलामाको रेलिंगबार लगाउने । त्यसपछि कम्तीमा पनि दश मिटर जग्गामा बृक्षरोपण गरी वगैंचा बनाउने , बगैंचा पछि कम्तीमा ७ मिटरको सडक बनाउने । नदी किनारा नजिक बिहानी, सांझ सर्बसाधारणलाई निश्चिन्त भएर घुमफिर ,हिंडडुल गर्न सक्ने ब्यवस्था मिलाई दिने । सडक पछि बस्ती बाट आउने पानी बग्नका लागि दीर्घकालसम्मको सोच राखेर ठुला ढल राख्नुपर्छ । त्यसरी बनाइएको ढलबाट बग्ने फोहर पानीलाई आवश्यक ठाउमा , ठाउंमा प्रशोधन अर्थात सुद्धता गरी सफा पानी मात्र बागमतीमा मिसाउने ब्यवस्थाको सोच गर्न सक्दा मात्र बागमती सफा हुन सक्ला । बागमतीमा मिसिने सबै साना ठुला खोला खहरेहरुमा पनि यसै किसिमले ब्यवस्थापन गर्न सक्दा हाम्रो बागमती ढलमती नवनी सभ्यता र संस्कृतिको धरोहर बन्न सक्ला कि ।
अहिले संसारमै हाम्रो सहर जस्तो फोहरी सहर अरु छैन होला । अब्यबस्थित ढल सडकमा बगेका कारण बर्षौ पुरानो पिनास रोगीकोे नाकले पनि दुर्गन्ध थाहा पाउंछ । त्यसैले फोहर उत्पादनमा कम कसरी गर्ने ? सड्ने गल्ने फोहरबाट घर घरमै मलखाद बनाउन उत्प्रेरण जगाउने । नसड्ने नगल्ने फोहरलाई ब्यवस्थित रुपमा व्यवस्थापना गराउन सिकाउने र त्यसको संकलन गर्ने । प्लास्टिकको बिकल्प सोच्ने वा त्यसलाई संकलन गरी पुन प्रयोगमा ल्याउने ।
काठमाडौं ,भक्तपुर र पाटन सहर सफाराख्न हाललाई कम्तीमा पनि नगरभित्र सबै सडको दायां बाया रहेका पसल व्यवसाय होटल संचालन गर्नेहरुको दैला अगाडी फोहर संकलनको लागि हरियो टिन, हरियो ठूलो बाल्टीन राखिदिने , पसलबाट निस्कने फोहर , प्लास्टिक , आदि त्यसैमा राख्नु पर्ने वाध्यकारी बनाउने र बटुवाहरुले पनि फोहर फाल्न पाउने । त्यस्तो फोहर नगरपालिकाबाट तोकिएको निश्चित समयमा गाडीबाट फोहर उठाउने व्यवस्था मिलाउन सके सहरभरी यत्रतत्र फोहरका डुंगुर देखिने थिएनन् कि । अनि यत्रतत्र सर्बत्र प्लास्टिक , कागज तथा अन्य फोहर पदार्थ छरिबरि हुने थिएनन् कि । सडक, पार्क, बसपार्क र मानिसहरु भेलाहुने सबै स्थानमा फोहर फाल्नका लागि भांडाहरु राखिदिने । फोहर जथाभाबी नफाली तोकिएकै ठाउंमा राखौं ,सभ्य बनौ, भन्ने जनचेतना फैलाउन संचार माध्यमबाट निरन्तर प्रचार प्रसार गरी बानी पार्ने । जथाभावी फोहर गर्नेलाई दण्ड जरिबाना कडाइका साथ गर्दै गएमा हाम्रो सहर पनि एकदिन सफा र स्वच्छ हुने थियो कि ।
त्यसैले नेपाल सरकारको जिम्मेबार पदमा आसिन रहनु भएका मुख्य सचिब लिलामणि पौडेलज्यूसंग मेरो अनुरोध अहिले जिल्ला बिकास समिति वा गाविसबाट ढल हाल्ने योजना दिदा के प्रयोजनको लागि हो बुझिनु पर्छ । ढल हालेर फेरी मलमुत्र नदीमा मिसाउन नपाउने व्यवस्था हुनुपर्छ नत्र काग कराउंदै छ पिना सुक्दै छ भने जस्तो त हुने होइन ।
गाउं, सहर अझ सहरमा बस्ने मानिसको मन सफा नभै, चेतास्तर उन्नत नभै बागमती सफा हुंदैन । यस्ता कार्यक्रमले मात्र हाम्रो गाउं खाने उखान, हिंड्दै छ पाइला मेट्दै छ के हो? भने जस्तै हुने त हैन ? । तर यस्तो नहोस् ।
तपाइ पनि एकपटक बागमती सफाइ अभियानमा सरिक हुनुहोस । तपाइमा एउटा उर्जा थपिनेछ । आफु बसेको गाउं टोल कसरी सफा राख्ने आजैबाट छलफल चलाउनुहोस । जय ब्लग ।
याे लेख केही पहिला नेपालप्लसमा प्रकाशित भएकाे थियाे )